Latest News

रवि लामिछानेसँग प्रहरीले पनि गर्यो सोधपुछ, के भने ?

Nepalese Times September 2, 2024 (2 Week ago)    133 Views

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सोधपुछ गरेको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली पनि काठमाडौँनै आएर रविसँग सोधपुछ गरेको हो ।

कास्कीका डीएसपी वसन्त शर्मा नेतृत्वको सो टोलीले गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा खानतलासी गरेको थियो । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिनाबारे अनुसन्धानका लागि काठमाडौँ आएको बेला टोलीले ३ वटा कम्पनीमा खानतलासी गर्दै रविसहित पूर्वडीआईजी छबिलाल जोशी बन्जाडे र बिपिन कर्माचार्यसँग समेत सोधपुछ गरेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए । तर बयान कागज भने गरिएको छैन ।

कास्की प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार रविविरुद्ध पूरक जाहेरी परेपछि आवश्यक विषय बुझ्न सोधपुछ गरिएको हो । सहकारीको रकम हिनामिना गरेर गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरेपछि लामिछानेले समेत ऋण लिएको र अरू व्यक्तिमार्फत तिरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार लामिछाने सहित तीन जनासँग सोधपुछ र कम्पनीमा छापा मार्ने उद्देश्यले डिएसपी शर्माको टोली चार दिनअघि नै काठमाडौँ आएको थियो । रविले भने सहकारी ठगीमा आफू संलग्न नरहेको निरन्तर दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस