काठमाडौं । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको अभियोगमा पक्राउ परेका ज्योतिष पुस्कर खतिवडा धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा छाड्न दिएको आदेशअनुसार उनी रिहा भएका हुन् । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरिरहेका बेला उनी १६ दिनअघि पक्राउ परेका थिए ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलका अनुसार खतिवडाले फेसबुकमार्फत लाइभ गरेर भीआईपीको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आव्हानसमेत गरेका थिए । २८ वर्षीय खतिवडाले सामाजिक सञ्जालमा आवेगमा लेखेको बयान दिएका छन् । उनीविरुद्ध प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।