काठमाडौं । बाराको सिम्रौनगढमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको घटना रहस्यमयी देखिएको छ । विषाक्त खानाका कारण उनीहरुको ज्यान गएको भनिएको छ । तर त्यहि खाना खाने अरु वयस्कलाई केही नभएको थाहा भएलगत्तै प्रहरीले यो घटनालाई सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको छ।
सिम्रौनगढ नगरपालिका–७ झवानी टोल निवासी नरेश रामको परिवारले शनिबार साँझको खानामा माछा र भात खाएका थिए। सँगै खाना खाएका परिवारका ६ जनामध्ये तीनजना बालबालिकाको मात्रै ‘फुड प्वइजन’को कारण मृत्यु भएको चिकित्सकले बताएका छन्। बालबालिकासँगै बसेर उही खाना खाने तीन जना वयस्कलाई भने केही नभएपछि प्रहरीले घटनालाई रहस्यमय मान्दै अनुसन्धान अघि बढाएको हो।
घरमुली नरेश रोजगारीको लागि भारतको पञ्जाबमा बस्छन्। घरमा नरेशका आमा(बुवा, पत्नी र चारजना छोराछोरी बस्दै आएका थिए। तीन बालबालिका विषाक्त खाना (फूड प्वाइजन)को कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। नरेशका कान्छा छोरा भने सकुशल छन्। ‘मृत्यु हुनेमा ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन राम छन्। उनीहरुको कलैया र वीरगञ्जका अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
चिकित्सकले उनीहरुको मृत्यु फुड प्वइजनबाट भएको बताएका छन्। खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पुर्याएका थिए। परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेपछि प्रहरीले घटनालाई रहस्यम मानेको हो।