Latest News

नुवाकोटमा अस्ताएका क्याप्टेन अरुण मल्ल, जो यसअघि पनि हेलिकोप्टर दुर्घटनामा परेका थिए

Nepalese Times August 7, 2024 (1 Month ago)    442 Views

काठमाडौं । आजभन्दा ११ वर्षअघि हेलिकोप्टर दुर्घटनामै ठूलो भाग्यले बाँचेका क्याप्टेन अरुण मल्ल हेलिकोप्टर दुर्घटनाकै कारण संधैका लागि अस्ताए । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अरुण मल्ल यसअघि पनि दुर्घटनामा परेको खुलेको छ । सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा २०७० साल असोज १० गते भएको दुर्घटनामा मल्लसहित यात्रु दावाग्याल्जेन शेर्पा घाइते भएका थिए ।

एयर डाइनेस्टीकै (एन–एईएक्स कल साइन भएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको थियो । क्याप्टेन अरुण मल्ल मात्रै होइन, आज दुर्घटना भएको ९ एन–एजेडी हेलिकप्टर पनि यसअघि दुर्घटनामा परिसकेको हेलिकप्टर हो । २०७९ साल चैत २५ गते ह्याम्स अस्पतालमा अवतरणका क्रममा यो हेलिकप्टर दुर्घटना भएको थियो ।

दुर्घटनाको क्रममा हेलिकप्टरको पुच्छरको भाग ठोक्किएको थियो । घटनामा कोही पनि घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो । त्यहि हेलिकोप्टर अहिले दुर्घटनामा परेको हो । एयर डाईनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।

यो आज नै हेलिकोप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको खुलेको छ । कम्पनीका म्यानेजर बालकृष्ण पण्डितका अनुसार दुर्घटना हुनुअघि हेलिकप्टर लुक्लाबाट काठमाडौँ आएको थियो । सबै कण्डिसन राम्रो रहेकै अवस्थामा हेलिकप्टर दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याप्रुबेसी उडेको थियो । साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १५ दिनको अन्तरालमा नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको हो ।

यसअघि यही साउन ९ गते काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको जहाज उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जुन दुर्घटनामा पाईलट बाहेक १८ जनाको ज्यान गएको थियो । योसँगै १५ दिनमा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस