Latest News

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पनि बोलाउने संसदीय समितिको तयारी

Nepalese Times July 30, 2024 (1 Month ago)    169 Views

काठमाडौं । सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने तयारी गरेको छ । उनीविरुद्ध उजुरी परे पनि गृहमन्त्री भएका बेला उनले अनुसन्धानमा अवरोध गर्दै आएका थिए ।

समितिका एक सदस्यका अनुसार गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाइ भइरहेको हो । ‘कागजात आउनासाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी छ, गोर्खा मिडिया नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेलाई बोलाउने छानबिन समितिको कार्यविधिमै व्यवस्था छ,’ ती सदस्यले भने, ‘गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाउँछौं ।’

सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरिएको तथ्य बाहिरिसकेको छ । लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएकै बेला ८० करोड ३१ लाख अपचलन भएको तथ्य पनि सार्वजनिक भइसकेको छ । सुप्रिमबाट २ करोड र सूर्यदर्शनबाट १ करोड लामिछानेका नाममा जम्मा भएको खुलासासमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस