Latest News

मुकुल ढकाललाई जेल हाल्नेसम्मको तयारी, रास्वपाको साधारण सदस्य पनि खारेज !

Nepalese Times July 14, 2024 (3 Month ago)    357 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका मुकुल ढकाललाई जेल हाल्नेसम्मको तयारी भएको बुझिएको छ । पार्टी सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेमाथि अनावश्यक लान्छना लगाउँदै गाली बेईजती गर्ने प्रयास गरेको भन्दै उनलाई पक्राउ गरेर जेल हाल्नेसम्मको तयारी भएको हो । ढकालको अभिव्यक्तिलाई लिएर कानूनी प्रक्रियामा जाने भनेर पनि पार्टीभित्र अनौपचारिक छलफल भइरहेको एक नेताले बताएका छन् ।

निवर्तमान महामन्त्री ढकालले तल्लो स्तरमा ओर्लेर पार्टी नेतृत्वविरुद्ध विषवमन गरिरहेका छन् । तीन दिनअघि पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति र हिजो एक टेलिभिजन अन्तरवार्तामा बोलेका कुराहरूले उनी रास्वपामा रहने सम्भावना समाप्त भएको स्रोतको भनाइ छ । महामन्त्री र प्रवक्ताबाट निष्कासित भएपछि ढकालले पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न लाञ्छना लगाएका थिए ।

उनले रवि विरुद्ध सहकारी ठगीदेखि दोहोरो नागरिकता(पासपोर्ट प्रकरणमा समेत पार्टीले छानबिन गर्नुपर्ने माग राखे । तर, उनको सो अभिव्यक्तिलाई पार्टीभित्र र बाहिर पनि गम्भीर रूपमा नलिइएपछि ढकाल अझै एक कदम अगाडि बढेका छन् । यस पटक उनले ‘राष्ट्रियता’ लाई औजार बनाउन खोजेका छन् ।

टिकाराम यात्रीलाई दिएको अन्तरवार्तामा उनले अपत्यारिलो दाबी गर्दै भने, ‘रवि लामिछानेले प्रधानमन्त्री बन्नका लागि मलाई भारतसँग कुरा गर्न पठाउनुभएको थियो । तर, मैले कुरा गर्न चाहिनँ ।’

रविले आफूलाई प्रधानमन्त्री बनाइदिएमा भारतले जे भने पनि मान्छु भनेको दाबी समेत मुकुलको छ । यति मात्र नभएर उनले पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेमाथि झन् कडा आक्षेप लगाएका छन् । वाग्लेले नेपाललाई भारतको राज्य बनाउनुपर्ने कुरा गरेको उनको भनाइ छ ।

यसअघि केन्द्रीय समिति बैठकले उनीप्रति सदाशयता देखाउँदै साधारण सदस्यता कायम राख्ने निर्णय गरेको थियो । साथै, ढकाललाई कारबाही चित्त नबुझे पुनरावेदनका लागि ३५ दिन म्याद दिने निर्णय पनि गरेको छ । तर, पछिल्ला अभिव्यक्तिहरूले अब उनी रास्वपामा अटाउने कुनै सम्भावना नरहेको एक पदाधिकारी बताउँछन् ।

रास्वपाका नेताहरूले ढकाललाई कुनै न कुनै शक्तिले उकासिरहेको हुन सक्ने अनुमान पनि लगाउन थालेका छन् । ‘अहिलेका अभिव्यक्तिहरू हेर्दा कि त उहाँ मानसिकरुपमा स्वस्थ अवस्थामा हुनुहुन्न, वा उहाँलाई कसैले रास्वपाविरुद्ध प्रयोग गरिरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ,’ एक केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस