Latest News

श्रीलंकालाई हराएरै छाड्ने कप्तान पौडेलको विश्वास

Nepalese Times June 11, 2024 (1 Month ago)    259 Views

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले पूर्णकालीन आईसीसी सदस्य राष्ट्रहरूलाई स्तब्ध बनाएको नतिजाका साथै निकै नजिकको प्रतिस्पर्धाहरूले नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेललाई उत्साहित बनाएको छ । बुधबार बिहान फ्लोरिडामा हुने खेलमा श्रीलंकालाई हराउन सकिन्छ भन्नेमा उनको आत्मविश्वास बढेको छ ।

नेपालका लागि प्रतियोगितामा मात्र यो दोस्रो खेल हुनेछ भने श्रीलंकालाई यो खेल प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न महत्त्वपूर्ण हुनेछ । समूह डीको सुरुवाती दुई खेल हारेको श्रीलंका प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको छ ।

‘हो, बिलकुल,’ श्रीलंकालाई हराउन सक्ने आशा कति छ भन्ने प्रश्नमा रोहितले भने, ‘यदि तपाईंले यो विश्वकप हेर्नुभयो भने एसोसिएट राष्ट्रहरूले टेस्ट खेल्ने राष्ट्रहरूलाई हराइरहेका छन् । यो हाम्रो लागि प्रेरणा हो, विशेष गरेर भोलि हुने खेलका लागि ।’

उनले थपे, ‘टिमका रूपमा हामीलाई भोलिको खेल जित्छौँ भन्ने विश्वास छ । हामीले जसरी केही महिनादेखि तयारी गरिरहेका थियौँ र हामीले जसरी पछिल्ला डेढ वर्षमा खेलिरहेका छौँ, मलाई लाग्छ हामीमा त्यो विश्वास छ । हामी भोलिको खेलका लागि उत्साहित छौँ । हामी भोलिको खेलमा हाम्रो ट्यालेन्ट विश्वसामु देखाउन चाहन्छौँ ।’

यसअघि अमेरिकाले पाकिस्तान र क्यानडाले आयरल्याण्डलाई हराएको नतिजाले नेपालको आत्मविश्वास बढाएको छ । दुवै खेल समूह ए का थिए । यी दुई खेलबाहेक पपुवा न्युगिनीले वेस्ट इन्डिज र नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई आच्छुआच्छु पारेको थियो । अफगानिस्तानले न्युजिल्याण्डलाई हराउनु त अब ‘अस्वाभाविक’ मान्न छाडिएको छ । तर, ८४ रनको अन्तर भने धेरैले अपेक्षा गरेभन्दा विपरीत थियो ।

अमेरिका र क्यानडाबिचको उद्घाटन खेलबाहेक अमेरिकाको पिचमा यो विश्वकपमा उच्च स्कोर बनाउने खेल भएका छैनन् । यसले पनि पौडेलको आत्मविश्वास बढेको छ । हालसम्म न्युयोर्कमा सबैभन्दा कम रन बनेका छन् ।

प्रतिक्रिया दिनुहोस