Latest News

१० महिनामा ११ खर्ब ७७ अर्बको व्यापार घाटा

Nepalese Times May 21, 2024 (2 Month ago)    244 Views

काठमाडौं । चालू आर्थिक वर्ष २०८०–०८१ को १० महिनामा नेपालको वैदेशिक व्यापारमा २ दशमलव ५० प्रतिशतले कमीसँगै ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँबराबरको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि वैशाखसम्मको १० महिनाको अन्तरालमा आयातमा २ दशमलव ३९ प्रतिशतले कमी आएको छ । यसैगरी, ३ दशमलव ६१ प्रतिशतले निर्यातमा गिरावट भएको छ ।

कुल वैदेशिक व्यापारमा साढे २ प्रतिशतले कमी

वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँबराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । यसबीचमा कुल १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँबराबरको निर्यात भएको छ । १० महिनामा कुल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाखबराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको १० महिनाको तुलनामा अढाई प्रतिशतले कम हो ।

सधैंझैं गत साउनदेखि वैशाखसम्ममा भारतसँग अधिक व्यापार घाटा रहेको छ । भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब २९ अर्ब ७० करोड ५७ लाख रुपैयाँबराबरको रहेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ ।

चीनसँग पनि नेपालको व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोडबराबर रहेको छ । १० महिनामा चीनसँग २ खर्ब ४० अर्ब ८३ करोड ७७ लाख रुपैयाँबराबरको आयात हुँदा २२ अर्ब ७४ करोडबराबरको निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब ३८ अर्ब ५५ करोड ७७ लाख रुपैयाँको व्यापार घाटा रहेको छ ।

व्यापार घाटा भएका मुलुकमा क्रमशः यूएई, युक्रेन, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, अर्जेन्टिना, इन्डोनेसिया, थाइल्यान्ड, क्यानडा, साउदी अरेबिया, कोरिया, थाइवान, ओमान, सिंगापुर, भियतनाम, जापान, यूके रहेका छन् । व्यापार फाइदा भएका मुलुकहरूमा क्रमशः डेनमार्क, अफगानिस्तान, नर्वे, सुडान, मौरिसेनिया, ल्याटभिया, न्यू क्यालेडोनिया, माल्दिभ्स, आइसल्यान्ड, मौरिसस, फिजी, क्रोएसिया, माल्टा, जर्जिया, चाडलगायतका रहेका छन् ।

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यस अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड १ लाख ३८ हजार रुपैयाँबराबरको डिजेल आयात भएको छ । यसैगरी, ५६ अर्ब ८० करोड १३ लाख रुपैयाँबराबरको पेट्रोल नेपाल भित्रिएको छ । १० महिनामा खाना पकाउने ग्याँस ४६ अर्ब ९८ लाख रुपैयाँको आयात भएको छ ।

नेपाल सरकारले डिजेलबाट ४४ अर्ब ८९ करोड ५ लाख, पेट्रोलबाट ३२ अर्ब ५४ करोड २४ लाख र ग्यासबाट ८ अर्ब ५८ करोड २६ लाख राजस्व प्राप्त गरेको छ । कुल १२ खर्ब ३ अर्ब ३५ करोडको आयात हुँदा सरकारले ३ खर्ब ४२ अर्ब ७७ करोड ४२ लाख राजस्व संकलन गरेको छ ।

१० महिनाको अन्तरालमा २४ अर्ब १ करोड २४ लाख रुपैयाँबराबरको मोबाइल फोन आयात भएको छ । विभागका अनुसार सो अवधिमा आयात भएका मोबाइल फोनमा लगाइएको भन्सार करमार्फत सरकारले ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकनुसार चालू आवको वैशाख अन्त्यसम्म २१ अर्ब ६५ करोड १ लाख ३३ हजार रुपैयाँबराबरको २ हजार ४ सय ५१ केजी ८ सय ६४ ग्राम सुन आयात भएको हो । सोही अवधिमा नेपालमा सरकारले सो सुन आयातका क्रममा भन्सार करबापत ३ अर्ब २४ करोड ७५ लाख ४८ हजार आम्दानी गरेको विभागको तथ्यांकले देखाएको छ ।

१० महिनामा नेपालमा ८ हजार ४ सय ९७ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । शून्यदेखि ५० किलोवाट, ५१ देखि सय, १ सय १ देखि २ सय र २ सय १ देखि ३ सय किलोवाट क्षमताका विद्युतीय गाडी भिœयाइएको हो ।

यी गाडीको आयात मूल्य २१ अर्ब ८ करोड ८० लाख ४९ हजार रुपैयाँ छ । यी गाडीको आयातबाट सरकारले ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चैत मसान्तसम्म नेपालमा ७ हजार ९३ विद्युतीय गाडी आयात गरिएको थियो । वैशाख मसान्तसम्म एक महिनाको अवधिमा १ हजार ४ सय ४ ईभी आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा ६ अर्ब ९१ करोड ५२ लाखको अलैंची निर्यात भएको छ । फलाम तथा डन्डी ५ अर्ब ६२ करोड ८५ लाखको निर्यात भएको छ । पाल्म आयल ५ अर्ब ६० करोडबराबर निर्यात छ । कार्पेट ५ अर्ब २६ करोड १ लाखको निर्यात भएको छ ।

१० महिनाको अवधिमा मुलुकले १ सय ६८ देशसँग व्यापार गरेको छ । त्यसमध्ये १ सय ३३ देशसँग व्यापार नोक्सानमा हुँदा बाँकी ३५ देशसँगको व्यापार नाफामा रहेको छ । विभागको तथ्यांकनुसार नेपालको वैदेशिक व्यापारमा ९१ दशमलव १७ प्रतिशत आयात रहेको छ भने जम्मा ८ दशमलव ८३ प्रतिशत निर्यातको हिस्सा रहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस