Latest News

चितवन प्रहरीको यस्तो प्रतिक्रियाले पारस साह खुशी, पेस्तोल ताकेकै हुन् कि हल्ला मात्रै थियो ?

Nepalese Times February 28, 2024 (1 Month ago)    302 Views

काठमाडौं । पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन् । उनी गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका छैनन् । तर, पूर्वराजा शाह र कोमल भने काठमाडौँ फर्किसकेका छन् ।

गैंडाकोटमा रहेका पारसले गत बुधबार चितवनको भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् ।

भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको सामाजिक संजाल प्रयोगकर्ताले दाबी गरेका छन् । तर, प्रहरीले सो घटना आफ्नो नोटिसमा नभएको जानकारी दिएको छ ।

चितवनका एसपी भावेश रिमालले घटनाबारे जानकारी नभएको बताए । ‘घटना हाम्रो नोटिसमा छैन ।’ ‘११ गते पूर्वराजारानीसहित १८ जनाको टोली काठमाडौं फर्किएको जानकारी छ तर त्यसबाहेक कुनै आधिकारिक जानकारी प्रहरीसँग छैन ।’ प्रहरी भन्छ । बागमती प्रदेशका डीआईजी विष्णु केसीले पनि सो घटना प्रहरीको जानकारीमा नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस