Latest News

मध्यरातमा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, कांग्रेसको भागमा कति ?

Nepalese Times January 7, 2024 (3 Month ago)    1210 Views

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका चार दलबिच राष्ट्रिय सिट बाँडफाँट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मध्यराति १२ बजेसम्म बसेको गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच भएको छलफले सिट बाँफाँट करिब टुंगिएको कांग्रेस नेता रमेश लेखकले बताए । माघ ११ मा निर्वाचन हुने १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने भएका हुन् ।

बैठकमा कांग्रेसले ११, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका थिए ।

यद्यपि एकीकृत समाजवादी र जसपाले थप एक–एक सिटको दाबी छाडेका छैनन् । कांग्रेस र माओवादीले एक–एक सिट छाड्नुपर्ने एकीकृत समाजवादी र जसपाको अडान छ । मतभारलाई हिसाब गर्दै कांग्रेस र माओवादीले एकीकृत समाजवादी र जसपालाई थप सिट दिने अवस्था नरहेको बताइसकेको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभाका मतदाताको अंकगणित हेर्दा सात प्रदेश मध्ये ६ वटामा कांग्रेस पहिलो छ । कोशी प्रदेशमा भने एमालेको मतभार कांग्रेसको भन्दा बढी छ । कर्णालीमा माओवादी केन्द्रको दोस्रो मतभार छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा तेस्रो मतभार छ ।

मधेस प्रदेशमा माओवादी मतभारका हिसाबले चौथो स्थानमा छ । त्यहाँ जसपा मतभारका हिसामा तेस्रो छ । अन्य प्रदेशमा एकीकृत समाजवादी र जसपाको उपसिस्थति न्युन छ । आज विहान बस्ने बैठकले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले पाएको सिटको क्लस्टर टुंगो लगाउने उनको भनाइ छ ।

रााष्ट्रिय सभाका लागि कोशीमा अन्य र महिला गरी २ सिट, मधेशमा अन्य र महिला गरी २, बागतीमा अपांग, दलित, अन्यसहित चार, गण्डकीमा अपांग, महिला र अन्य गरी ३ सिट, लुम्बिनीमा महिला र अन्य गरी २ सिट, कर्णालीमा महिला, दलित र अन्य गरी ३ सिट र सुदूरपश्चिममा अन्य, अपांग र महिला गरी ३, सिटका लागि निर्वाचन हुनेछ । गठबन्धनबीच यी नै क्लस्टरका आधारमा भागबन्डा गर्ने तयारी छ ।

फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ (एक मनोनीत सहित), कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । गठबन्धनमा आफ्नो सिट सुरक्षित गरी एमालेको रिक्त सिटमा कांग्रेस र माओवादीबिच भागण्बडा लगाइएको देखिन्छ । शनिबारको बैठकमा सत्ता साझेदार जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र जनमोर्चालाई बोलाइएको थियो ।

जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र जनमोर्चाले एक(एक सिटमा दाबी गरेपनि राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबिच मात्र भागबण्डा भएको देखिन्छ । यद्यपि विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार पनि राष्ट्रियसभामा गठबन्धनसँग भाग माग्ने निर्णय गरेको थियो । भोलि उम्मेदवारी दर्ताको समय भएकाले सबै विषय आज टुंग्याउने नेताहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस