Latest News

सर्लाहीमा प्रहरीको गोलि लागेर ज्यान गुमाएका ३० वर्षका जयशंकर को हुन् ?

Nepalese Times January 5, 2024 (3 Month ago)    2137 Views

सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर ३० वर्षका युवकाके ज्यान गएको छ । उनी बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेको खुलेको छ ।

प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकरको शवलाई प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएर राखेको छ । प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार झडपको क्रममा प्रहरी र केही स्थानीयसमेत घाइते भएका छन् ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । नगर कार्यपालिका बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयबारे छलफलका लागि नगरमा सर्वदलीय बैठक बोलाइएको थियो । आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ । बालकुमारी घटनाबाट पाठ सिक्नुपर्ने ठाउँमा फेरि अर्को ठाउँमा पनि अनाहकमै राज्यबाट सामान्य नागरिकको गोली हानेर हत्या भएको भन्दै चौतर्फी विरोध सुरु भएको छ ।

यसैबीच, आन्दोलन अनियन्त्रित भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सर्लाहीका सीडीओ कोमलप्रसाद धमलाले कर्फ्यू आदेश जारी गरेका हुन् । आज बेलुका साढे ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म बरहथवा नगर क्षेत्रको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो ।

१५ बेडको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विषयलाई लिएर मेयर कल्पनाकुमारी कटुवालविरुद्ध उत्रिएका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस