Latest News

बालकुमारी घटनामा ज्यान गुमाएका वीरेन्द्र शाह र सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने

Nepalese Times January 1, 2024 (4 Month ago)    375 Views

काठमाडौँ । सरकारले बालकुमारी घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।

पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा उनीहरुको मृत्यु भएको थियो ।

मृतकका परिवार र सरकारबिच भएको ४ बुँदे सहमतिमा दुई जनालाई सहिद घोषणा गर्ने सहमति भएको हो । जसअनुसार मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ ।

घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।

मृतकका परिवारलाई परिवारका सदस्यहरुसँगको सल्लाहमा एक/एक जनालाई उपयुक्त खालको रोजगारी दिने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाही गर्न गृहमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गर्ने र मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई गृहजिल्लामा पुर्‍याउन गृहमन्त्रालयले प्रबन्ध मिलाउने सहमति भएको छ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्रका बुवा टेकबादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालको उपस्थिति रहेको थियो। उक्त सहमति अछाम क्षेत्र नम्बर एकका सांसद शेरबहादुर कुँवर, दैलेख–२ का सांसद दिक्पाल कुमार शाही, दैलेख १ का अम्मरबहादुर थापा, अछाम २ का सांसद पुष्पबहादुर शाह र दीपा कुमारी शर्माको रोहवरमा गरिएको हो।

प्रतिक्रिया दिनुहोस