Latest News

राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउछौँ : मन्त्री साउद

Nepalese Times August 26, 2023 (8 Month ago)    362 Views

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने बताउनुभएको छ । बिहीबार काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने बताउनुभएको हो ।

कार्यक्रममा मन्त्री साउदले जारी रुस–युक्रेन द्वन्द्वको उदाहरण दिँदै उहाँले स्वतन्त्र देश भएपनि युक्रेनले छिमेकी रुसको सुरक्षा चासोलाई सम्बोधन गर्न नसकेका कारण द्वन्द्वको सिर्जना भएको उल्लेख गर्नुभयो । असंलग्न परराष्ट्र नीति भनेको कुनै सैन्य गठबन्धनमा सहभागि नहुने नीति रहेको भन्ने आफ्नो बुझाइ रहेको बताउँदै उहाँले यसलाई कूटनीतिक तटस्थताका रुपमा व्याख्या गर्न नहुने धारणा राख्नुभयो । कूटनीतिक रुपमा नेपाल युक्रेनमाथि रुसी हस्तक्षेपको विपक्षमा रहेको मन्त्री साउदको भनाइ छ ।

सबैलाई समान भाग लाग्नेगरी गणतीय हिसाबका आधारमा परराष्ट्र सम्बन्धको सन्तुलन नहुने भन्दै मन्त्री साउदले जुन मुलुकसँग आर्थिक र व्यापारिक सम्बन्धमा निकटता छ, सोही मुलुकसँगको सम्बन्धलाई प्राथमिकता दिइनुपर्ने धारणा राख्नुभयो । दुबै छिमेकी मुलुकहरुले तीव्र आर्थिक विकास गरिरहेको उल्लेख गर्दै उहाँले मुलुकको विकासमा दुबै छिमेकीको सहकार्य आवश्यक रहेको बताउनुभयो । भारतले पनि नेपाल–चीनबीचको स्वभाविक सम्बन्धलाई बुझेको र चीनले पनि नेपाल–भारतबीचको स्वभाविक सम्बन्धलाई बुझेको भन्दै उहाँले नेपाल द्विपक्षीय र बहुपक्षीय सम्बन्धको ढोकालाई खुला राख्न दृढ रहेको धारणा राख्नुभयो ।

उहाँले भारत र चीन दुबै छिमेकी मुलुकमा लामो समयदेखि स्थीर सरकार रहेको उल्लेख गर्दै नेपालमा राजनीतिक अस्थीरताको प्रभाव परराष्ट्र सम्बन्धमा पनि देखिएको उल्लेख गर्नुभयो । राष्ट्रिय एकतालाई बलियो बनाउन सबै राजनीतिक दलहरु एकैठाउँमा आउनुपर्ने र यसका लागि राजनीतिक दलहरुमा परिपक्वताको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय विश्वको भूराजनीतिमा परिवर्तन आइरहेको बताउँदै यसलाई विकाससँग जोड्नेगरी नेपालका बुद्धिजीविले बहस चलाउनुपर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी, कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री मिनेन्द्र रिजालले छिमेकी मुलुकहरु चीन र भारतले आर्थिक रुपमा प्रगति गर्दा त्यो नेपालका लागि ठूलो सम्भावना रहेको बताउनुभयो । छिमेकीको तुलनामा सानो देखिएपनि भूगोल र जनसङ्ख्याका आधारमा नेपाल विश्वका औसत देशभन्दा ठूलो रहेको भन्दै उहाँले अर्थतन्त्रमात्रै सानो रहेको जिकिर गर्नुभयो । उहाँले नेपालमा आर्थिक विकासको प्रचुर सम्भावना रहेपनि देशको राजनीतिक नाशवान् दिशामा रहेकाले त्यसको सुधार आवश्यक रहेको बताउनुभयो । पूर्वमन्त्री रिजालले नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउन शासनव्यवस्था, कूटनीतिक सीप र क्षमतालाई थप सुधार गनुपर्नेमा जोड दिनुभयो । नेपाली राजनीतिमा सुधार आउँछ आउँदैन, त्यो हेर्न आफू उत्सुक रहेको उहाँको भनाइ छ ।

नेपाली राजनीति नाङ्गै हिँडेको कटाक्ष गर्दै नेता रिजालले परराष्ट्र नीतिले नाङ्गो राजनीति मन नपराउने र परराष्ट्र नीतिलाई सन्तुलित बनाउन पनि राजनीतिले लुगा लगाउनुपर्ने धारणा राख्नुभयो । चीन भ्रमणअघि अमेरिकाको भ्रमण गर्ने प्रधानमन्त्री प्रचण्डको निर्णयलाई सकारात्मक र कूटनीतिक चातुर्यता रहेको उहाँको भनाइ छ ।

त्यसैगरी, कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध एवम् पर्यटन समितिका सदस्य उदयशमशेर जबराले तीव्र गतिमा आर्थिक विकास गरिरहेका चीन र भारतबीच रहेको नेपालमा पनि विकासको सम्भावना रहेको उल्लेख गर्नुभयो । यद्यपि नेतृत्वले यसबारे चासो नदिएको उहाँको भनाइ छ । उहाँले छिमेकीहरुको चासोलाई पनि ध्यान दिँदै राष्ट्रिय हितअनुसार छिमेकीसँग व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उहाँले सरकारमा र विपक्षमा हुँदा राजनीतिक दलको नीति र लाइन फरक फरक हुने गरेको भन्दै सरकारमा आउने पार्टीको नीतिका आधारमा मुलुकको परराष्ट्र नीति परिवर्तन हुन नहुने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले नेपालमा लगानीको वातावरण बनाउन छिमेकी देशको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले कुनै देशका राजदूत पार्टीका नेताको घरघर जाने र कुनै देशका गुप्तचरले प्रधानमन्त्रीसँग रातभर भेट्ने गरेको उल्लेख गर्दै यस्ता गतिविधिबाट अफ्ठ्यारो पर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनालले ठूला छिमेकीको बीचमा रहेको नेपालको विश्व मञ्चमा भने भूमिका कमजोर बनेको बताउनुभयो । नेपालले आफ्नो मजबुत पक्ष अझै खोज्न बाँकी रहेको भन्दै उहाँले सर्वप्रथम नेपालको राष्ट्रिय हितको स्पष्ट परिभाषा आवश्यक रहेको धारणा राख्नुभयो । विश्वमा शान्ति स्थापनाको क्षेत्रमा नेपालको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले यसलाई पनि विश्वमाझ प्रस्तुत गर्न सक्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय प्रविधिको विकास, जलस्रोत, ऊर्जाजस्ता क्षेत्र पनि राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै सांसद खनालले यसबारे नेपालले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताउनुभयो । परराष्ट्र मन्त्रालयमा विभिन्न विभाग हेर्न आवश्यक जनशक्तिको अभाव रहेको चर्चा गर्दै उहाँले परराष्ट्र सम्बन्धलाई थप सुदृढ गर्न संरचनगत क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पछिल्लो समय विश्व वित्तीय पुँजीवादबाट डेटा पुँजीवादतर्फ उन्मुख हुँदै गएको र एकल ध्रुवीय विश्व अहिले बहुध्रुवीय बन्दै गएको टिप्पणी गर्नुभयो । पछिल्लो समय पश्चिमा मुलुकबाट एसियातर्फ शक्ति केन्द्रीत हुँदै गएको चर्चा गर्दै यसमा नेपालको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । दलगत स्वार्थमा नेपालको परराष्ट्र नीति अल्झेका कारण नेपाल विभिन्न मुलुकको स्वार्थका लागि प्रयोग भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त उपरथि एवम् सुरक्षाविज्ञ विनोज बस्न्यातले मंगोलिया, कजाखस्तान, बोत्स्वानाजस्ता मुलुकको उदाहरण दिँदै नेपालको असंलग्न परराष्ट्र नीति बहुसंलग्नतातर्फ उन्मुख हुनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालको सन्दर्भमा असंलग्न परराष्ट्र नीतिलाई पुनपरिभाषित गर्नुपर्ने बताउनुभयो । एसियामा चीनको प्रभाव बढ्दै जाँदा हिमाली क्षेत्रको भूराजनीतिक महत्व पनि बढ्दै गएको उहाँको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा पूर्व राजदूत एवम् परराष्ट्र मामिलाका जानकार विजयकान्त कर्णले विश्वमा देखिएको परिवर्तनलाई सम्बोधन गर्नेगरी नेपालले आफ्नो रणनीतिको विकास गर्न नसकेको धारणा राख्नुभयो । उहाँले कुनै मुलुक विशेषसँग नेपालले कायम गर्नुपर्ने सम्बन्धबारे पनि विशिष्ट रणनीतिको आवश्यकता औल्याउनुभयो । अहिले असंलग्नता मृतप्रायः रहेको उल्लेख गर्दै नेपालको परराष्ट्र नीति असंलग्नताबाट अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

कुनै समय भारतमा जवाहरलाल नेहरु प्रधानमन्त्री हुँदा नेपालले भारतलाई विरोध पत्र लेखेको उल्लेख गर्दै अहिले कुनै अमुक मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा नेपाल चुप लागेर बस्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा चीनको विश्वव्यापी सुरक्षा पहल अर्थात् जीएसआईबारे छलफल हुने चर्चा चलिरहेका बेला नेपाल कुनै पनि सुरक्षा गठबन्धनमा संलग्न हुँदैन भनेर चीनलाई बुझाउन सक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा फ्रान्सका लागि नेपालका पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले नेपालको विदेश नीति भारत र चीनतर्फमात्र केन्द्रित भएको बताउनुभयो । उहाँले विभिन्न मुलुकमा रहेका दूतावासमा बजेटको पनि समस्या रहेको गुनासो गर्नुभयो । विदेशमा नेपाल र नेपालीप्रतिको धारणा सकारात्मक रहेको उहाँको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा परराष्ट्र मामिलाका जानकार अरुणकुमार सुवेदीले लामो समयदेखि आफूले नेपालको विदेश नीतिका सिद्धान्तको आधारलाई नै परिवर्तन गर्नुपर्ने पक्षमा रहेको उल्लेख गर्दै असंलग्तालाई पुनपरिभाषित गरिनुपर्ने बताउनुभयो । उहाँले श्रम कूटनीतिको चर्चा गर्दै नेपालका लागि कुवेत, साउदी अरब, यूएई, कतारजस्ता खाडीका मुलुकहरुको महत्व बढेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे चर्चा गर्दै दोस्रो पटक सी जिन्पिङ राष्ट्रपति बनेयता नेपालसँगै दक्षिण एसिया मामिलामा चिनियाँ विदेश नीतिमा परिवर्तन आएको धारणा राख्नुभयो । कार्यक्रममा परराष्ट्र मामिलाका जानकार, जनप्रतिनिधिहरु, व्यवसायी, पत्रकार, बुद्धिजीवि एवम् नागरिक समाजका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस