Latest News

मन्त्री खड्काको पहुँच देखाउँदै प्रहरीको लत्ताकपडा ठेक्का हत्याउँदै ठेकेदार अग्रवाल, नागरिकता कीर्ते !

Nepalese Times August 20, 2023 (8 Month ago)    1273 Views

काठमाडौं । प्रहरीभित्र सेटिङ् गर्न माहिर ठेकेदार श्रवण कुमार अग्रवाल नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठेक्कापट्टामा वर्षौँदेखि रजगज गर्दै आएका पात्र हुन्, त्यो पनि उच्च राजनीतिक पहुँचको धङ्धङ्गी देखाएर । यतिसम्म कि अरु ठेक्कापट्टा गर्ने कम्पनीले प्रवेश नपाओस् भनेर सेटिङ मिलाउनकै लागी पूर्व तयारी अनुसार नै अरु कम्पनीहरु खडा गर्ने गरेका छन् ।

अग्रवालको कम्पनी क्यामो फ्ल्याग नेपाल प्रालिले गत आर्थिक वर्षमा नेपाल प्रहरीका लागि हिमाली पञ्चु, हिमाली ज्याकेट, पार्का ज्याकेट र रुक्सा ब्यागको ठेक्का पाएको थियो । त्यसैगरी श्रवण अग्रवाल नै परोक्षरुपमा जोडिएको र धेरैजसो जेभीमा काम गर्ने प्लस पोइण्ट ट्रेडिङले सशस्त्र प्रहरीको रेगुलर चुस्ताको ठेक्का प्राप्त गरेको थियो ।

श्रवण अग्रवाल नै जोडिएको तेजसम ट्रेड इन्टरप्राइजेजले सशस्त्र प्रहरीका लागि जर्सीको टेण्डर पाएको थियो । श्रवण अग्रवालकै एकल स्वामित्व रहेको क्यामो फ्ल्याग नेपाल प्रालिले सशस्त्र प्रहरीका लागि हिमाली चुस्ताको ठेक्का पाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको चुस्ता, ज्याकेट, स्लिपिङ ब्याग, जर्सी लगायतका सामाग्रीमा आफू अनुकूलको स्पेशीफिकेसन तयार पारी आफू मात्रै सहभागी हुन पाउने गरी ठेक्का मिलाएको आरोप अग्रवालमाथि लाग्ने गरेको छ ।

टोपेन्द्र वि .सी. वीरेन्द्र जोशी, ज्ञानेन्द्र बस्नेत, राजमान मिश्र, राजु थापा , पिताम्बर मुनका लगायत व्यक्तिहरु श्रवण कुमारको गिरोहका सदस्यहरु हुन् । विभिन्न कम्पनी खडा गरेर ठेक्कापट्टा हत्याउने र आफ्नो रजगजलाई कायमै राख्ने प्रयास श्रवण कुमारबाट हुँदै अएको छ । अग्रवालको नाममा क्यामो फ्ल्याग नेपाल प्रा.ली. कम्पनी दर्ता रहेको बुझिएको छ । तर आफ्नो नाममा रहेको कम्पनीमा नागरिकता नम्बर नै अर्काको प्रयोग गरी कीर्ते गरिएको भेटिएको छ ।

प्राप्त विवरण अनुसार एक कागजातमा श्रवण कुमार अग्रवाल रहेको एक कम्पनीले हालेको टेन्डरमा नागरिकता नम्बर नै अरू कसैको उल्लेख गरेका छन् । नेपाल प्रहरीको लत्ताकपडा लगायतको ठेक्का प्राप्त गरेपछि कर कार्यालयमा पेस गरिएको कागजातमा अग्रवालले पहिले भारतीय आइडी कार्ड नम्बर उल्लेख गरेका थिए । तर उक्त आइडी कार्ड प्रयोग गर्न नमिल्ने भएपछि उनले आफ्नो नाम लेखेर हस्ताक्षर पनि गरे, तर नागरिकता नम्बर भने अर्कै व्यक्तिको प्रयोग गरेका छन् ।

कर कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ को कर चुक्ता प्रमाणपत्र लिने क्रममा क्यामो फ्ल्याग नेपाल प्रालिका सञ्चालक ठेकेदार अग्रवालले आफ्नो नागरिकता नम्बरमा 373022F13-19 भनी उल्लेख गरेका छन् । उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय पर्साबाट लिइएको दाबी गरिएको छ र नागरिकता जारी भएको मिति २०६३ चैत २२ गते उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साको रेकर्डमा उक्त नागरिकता नम्बर फेला परेको छैन । अग्रवालले आफ्नो नाम र हस्ताक्षर प्रयोग गरे पनि नक्कली नागरिकता बनाएको वा अरू कसैको नागरिकता प्रयोग गरेको जिल्ला प्रशासन कार्यालय स्रोतको दाबी छ । अग्रवालसँगै सेटिङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको लत्ताकपडा, चुस्ता, ज्याकेट, जर्सी, पार्का लगायतका सामानको ठेक्कामा सक्रिय प्लस पोइण्ट नेपाल राजश्व अनुसन्धान विभागको छानबिनमा कैफियत देखिएपछि कारबाहीको चरणमा रहेको छ ।

आन्तरिक राजश्व कार्यालय श्रोतका अनुसार प्यान नम्बर ३०१५४८६९८ रहेको प्लस पोइण्ट ट्रेडिङले नक्कली भ्याट बिल तयार पारेको भनी छानबिनको क्रममा रहेको छ । नक्कली भ्याट बिल बनाएर राज्यबाट करोडौँ रकम भुक्तानी लिएको कसुरमा उक्त कम्पनीविरुद्ध राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको भए पनि प्रहरीको ठेक्कापट्टामा भने उनले सक्रिय सहभागिता जनाइरहेका छन् । यही कम्पनीसँग मिलेर ठेकेदार श्रवण अग्रवालले समेत काम गरिरहेका छन् ।

नक्कली नागरिकता नम्बर प्रयोग गरी प्रहरीको ठेक्कापट्टामा संलग्न श्रवण कुमार अग्रवालले अर्का ठेकेदार टोपेन्द्र बिसीसँग मिलेर समेत प्रहरीको ठेक्कापट्टा हत्याइरहेका छन् । काँग्रेस नेता पूर्ण बहादुर खड्काको ज्वाइँ भन्दै टोपेन्द्र बिसी संलग्न रहेको तेजसम ट्रेड इन्टरप्राइजेजले प्रहरीको लत्ताकपडा, स्लिपिङ ब्याग, रुक्सा ब्याग आदिको ठेक्का विगत लामो समयदेखि लिइरहेको छ । तर नेता खड्काको आफ्नै ज्वाईृ पर्ने हुन् या नातामा ज्वाईं पर्ने हुन् भन्नेबारे खुलेको छैन ।

नेपाल टेलिकममा छैटौँ तहमा कार्यरत टोपेन्द्र बिसी कार्यालयमा हाजिर गर्ने र ठेक्कापट्टामा निस्कने गरेका छन् । बिसीको गत वैशाखदेखिको हाजिरीमा उनी सामान्यतः बिहान ७ बजे कार्यालयमा आएर हाजिर गर्ने गरेको देखिएको छ । यद्यपि उनलाई कुनै खास जिम्मेवारी दिइएको भने पाइएको छैन । टोपेन्द्र बिसी नेपाल टेलिकमको कर्मचारी भए पनि ठेक्कापट्टामा आफैँ उपस्थित भएर सहभागी हुन पाउँदैनन् ।

टोपेन्द्र बिसी ठेक्कामा सहभागी हुने तेजसम ट्रेड इन्टरप्राइजेज सुजाता खड्काको नाममा दर्ता छ । आर्थिक वर्ष २०६६ माघ ७ गते वाणिज्य विभागमा दर्ता भएको कम्पनीको सुरुको पुँजी ३० लाख रुपैयाँको थियो । तर २०७९ सालमा संशोधन गरी हाल उक्त कम्पनीको चुक्ता पुँजी एक करोड रुपैयाँ पुराइएको छ ।

कम्पनी सुजाताको नाममा दर्ता भए पनि उनी पेसाले स्वास्थ्यकर्मी हुन् । ठेक्कापट्टाको काम भने टोपेन्द्र बिसीले नै गर्दै आएका छन् । ठेक्कापट्टामा हस्ताक्षर गर्ने र सम्पर्क नम्बर राख्दा पनि टोपेन्द्रले नै राख्ने गरेका छन् । श्रवण कुमार अग्रवालकै सक्रियता र योजनामा यी तीन कम्पनीले पालैपालो नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठेक्का हत्याउँदै आएका छन् । तर ठेक्का हात पार्न उनले प्रयोग गरेको नागरिकता नम्बर भने उनको नभएर अरू कसैको प्रयोग गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस