प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले र कांग्रेस सम्मिलित नयाँ समिकरणको सरकार गठन गर्ने प्रस्ताव बोकेर कांग्रेस सांसद एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । कांग्रेस सांसद सुनिल शर्मा सरकार ढाल्ने प्रस्ताव बोकेर बालकोट पुगेका हुन् । शेरबहादुर देउवाकी पत्नी आरजु राणा पनि सरकारसँग सन्तुष्ट छैनन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका बालकृष्ण खाँण र एमालेका टोपबहादुर रायमाझी प्रहरी खोरमा छन् । ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यस्तोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कदम एमाले र कांग्रेसको एक तप्कालाई पटक्कै मन परेको छैन ।
कांग्रेस र एमालेका नेताहरु विभिन्न प्रकरणको फाईल पल्टाउँदै धमाधम पक्राउ पर्दै गर्दा माओवादी केन्द्रका नेताहरुले भने उन्मुक्ति पाईरहेको कांग्रेस एमालेका नेताहरुको आरोप छ । पटक–पटक सुन तस्करसँग टेलिफोन संवाद गर्ने र सुन छुटाउन दबाब दिने माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोरा खुलेआम हिँडिरहेका उनीहरुको भनाई छ ।
आफ्नालाई जोगाएर अरु पार्टीका नेताहरुलाई फसाउने रणनीति बोकेको आरोप खेपेका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जसरी पनि सत्ता बाहिर पुर्याउने योजना आरजु राणासहित कांग्रेसका अरु नेताहरुले बनाएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारले आफूहरुलाई बर्बाद पार्ने भयो, अब एमाले र कांग्रेसको सरकार बनाउनुपर्यो भन्दै कांग्रेसका सांसद सुनिल शर्मा बालकोट पुगेका हुन् । ओलीसँग भेटेपछि बाहिरिने क्रममा उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।