Latest News

प्रचण्डलाई आरजुले पनि थर्काइन्, गृहमन्त्री श्रेष्ठ देउवा निवासमा, सरकार ढाल्ने मिसनमा को–को ? (भिडिओसहित)

Nepalese Times August 12, 2023 (8 Month ago)    602 Views

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव नै सरकार ढाल्न कस्सिएका छन् । गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्ने भन्दै पीडितहरुसँग सरकारले ५ बुँदे सहमति गरेसँगै जसपा अध्यक्ष यादव प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट छन् । यादवले अहिलेको सत्ता समिकिरण नै फेरबदल गर्ने चेतावनीसमेत दिन थालेका छन् ।

जसपा अध्यक्ष यादवकै कारण मात्रै होइन, आफ्नै अरु सहयात्रीहरुबाटसमेत प्रधानमन्त्री प्रचण्ड चोतर्फी घेराबन्दीमा छन् । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी पत्नी आरजु राणा देउवासमेत सरकारको पछिल्लो कदमप्रति शसंकित छिन् । उनले वर्तमान सरकार विपक्षी दलका नेतालाई छानिछानि जेल पठाउने पाकिस्तानी मोडलमा उद्धत रहेको आरोप लगाउन थालेकी छिन् ।

आफू कांग्रेस सभापति र पूर्वप्रधानमन्त्री पत्नी मात्र नभएर सांसदसमेत भएको व्यक्तिको नक्कली अडियो खडा गरेर आरोपित गरिएको भन्दै उनले सामान्य मान्छेमाथि सरकारबाट अत्याचार भइरहेको टिप्पणी नै गर्न भ्याएकी छिन् । कांग्रेस सांसद नै पक्राउ पर्दा पूर्वमन्त्री एवम् कांग्रेस नेता विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कांग्रेसका नेताहरुले गृहमन्त्रीको राजीनामा माग्न थालेका छन् ।

यस्तै सर्वोच्च अदालतको पछिल्लो आदेशले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको मन पनि अमिलो बनेको छ । त्यो अमिलो मनलाई गुलियो नबनाए प्रचण्डसँगको सहयात्रा टुटाउने माधव र बाबुरामको चेतावनी छ ।

ललिता निवास जग्गा प्रकरणले आफूहरुको राजनीतिक भविश्य नै अप्ठ्यारोमा परेको बताईरहेका उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई लडाकु शिविरमा भएको भनिएको घोटला काण्डसमेत सम्झाउन थालेका छन् । भ्रष्टाचारका फाईलहरु एकपछि अर्को खोल्ने र आरोपितमाथि अनुसन्धान प्रक्रिया अघि बढ्दा प्रधानमन्त्री प्रचण्ड र चौतर्फी घेराबन्दीमा छन् ।

यस्तोमा आफ्नो गृहमन्त्री पद र सरकार नै धरापमा परेको बुझेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । सरकारको पछिल्लो कदमबारे कांग्रेस सभापति शेरबहादुर देउवा चुईंक्क बोलिरहेका छैनन् ।

अहिले नै सत्ता समिकरण फेरबदल गर्ने र केपी शर्मा ओलीसँग सत्ता सहकार्य गरिहाल्ने पक्षमा समेत देउवा देखिएका छैनन् । किनभने केपी ओलीबाट जुनसुकै बेला पनि आफूमाथि धोका हुन सक्ने देउवाले बुझेका छन् ।

सत्ता सहयात्री दलहरुले नै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताईरहँदा गृहमन्त्री श्रेष्ठ देउवा भेट्न धुम्बाराही पुगेका हुन् । उनीहरुबीच केके कुरा भयो भन्नेबारे खुलाईएको छैन, तर सत्ता संकटको खतरा टार्नकै लागि गृहमन्त्रीले देउवालाई भेटेको विषय लुकेको छैन । केही दिनअघि मात्रै सरकारबाट बाहिरिने चेतावनी लगत्तै कांग्रेस सभापति देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर थामथुम पारेका थिए ।

प्रतिक्रिया दिनुहोस