Latest News

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

Nepalese Times July 12, 2023 (9 Month ago)    1174 Views

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

यथार्थमा सीता दाहालको जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ । एक सामान्य मध्यम किसान परिवारकी छोरी अर्को गरिब किसान परिवारको केटासँग विवाह बन्धनमा बाँधिएपछिका एकपछि अर्को घटनाक्रमहरु आफैंमा तिलस्मी लाग्नेखालका छन् ।

तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसकै दुई परिवारका बीचमा मध्य तराईको चितवनमा झरेपछि पारिवारिक नाता गाँसिन्छ । पढेलेखेको केटोसंगको विवाह सुखद होला भनेको झण्डै लावारिस जस्तो बन्न पुग्दछ सीता दाहालको जीवन ।

आफूभन्दा ६ महिना कान्छो केटो पुष्पकमल दाहालले कक्षा १० मा पढ्दै गर्दा सीता पौडेल दाहल परिवारमा बुहारी बन्न पुग्छिन् । संयोगले कास्कीबाट दाहाल परिवार र पौडेल परिवार एकै साल चितवन झरेका थिए । सीताका लागि टाँठो र पढे लेखेको केटा खोज्ने क्रममा उनका मामाले पुष्पकमललाई फेला पारे ।

पुष्पकमलको गरिब किसान परिवार भए पनि धनीकी छोरी विवाह गर्ने भनेपछि दोहोरा बाजासहित पुष्पकमल र सीताको विवाह भयो । विवाह भएको केही समयमा नै श्रीमान् काठमाडौं पढ्न गएपछि सीताको जीवन त्यसै उदास बनेजस्तो हुन लाग्यो । तर केही समयमा नै छोरी जन्मेपछि एकातिर सीतालाई साथी भइन् छोरी भने अर्कातिर छोरो पाउन नसक्ने बुहारीका रुपमा सीताले मनोवैज्ञानिक बुहार्तन खेप्न बध्य हुनुप¥यो । छोरा वा छोरी हुने कुरा महिलामा नभएर पुरुषको क्रोमजोमको अवस्थाले निर्धारण गर्ने कुरा हो भन्ने कसैलाई थाहा पनि थिएन । त्यसमाथि लगातार ३ वटी छोरी भए सीताका । त्यसको पीडा सीता दाहालले स्वयं बताएबाट स्पष्ट हुन्छ ।

कान्छी छोरी जन्मेको बर्ष सीताका श्रीमान् कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर घरबाट निस्केपछि सीताको जीवन एक तमासले निरसिलो त बन्ने नै भयो । त्यसमाथि दाहाल परिवारमा पढे लेखेको, सबै परिवार पाल्ने आशा गरिएको जेठो छोरो नै पार्टी कार्यकर्ता बनेपछि पञ्चायती प्रशासनको यातना खेप्न बाध्य भयो अवोध दाहाल परिवार ।

त्यसको पहिलो मार पनि सीतालाई नै प¥यो । पुष्पकमललाई घरबाट छुट्याइदिएपछि पुलिसको दमनबाट जोगिन्छ कि भनेर पुष्पकमलका पिता मुक्तिराम दाहालले उनीहरुलाई छुट्याइदिए । पहिले ८–१० जनाको गुलजार परिबार अब ४ जना भन्ट्याङभुन्टुङका साथमा सीता एक्लै भइन् । श्रीमान त प्रहरीको खोजीमा परिसकेका थिए । तर पनि हरदम छायाँका रुपमा प्रचण्ड सीतासँगै थिए । त्यस्तो अवस्थामा सीतालाई माइतीले भरथेग नगरेको भए के हुँदो हो भन्ने गम्भीर प्रश्न प्रचण्डले नै गरेबाट स्थिति कति दयनीय रहेछ भन्ने स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस