Latest News

प्रहरी प्रधान कार्यलयबाट आएको यस्तो खबरले देउवा निवासमा खैलाबैला, कहाँ छिन् आरजु र मञ्जु ?

Nepalese Times July 9, 2023 (9 Month ago)    1055 Views

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आएको नयाँ ट्वीस्टले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा खैलाबैला मच्चिएको छ । सार्वजनिक भएको अडियो शरणार्थी प्रकरणमा थुनामै रहेका व्यक्तिको भएको पुष्टि भएसँगै यसबारे देउवाले प्रधानमन्त्री प्रचण्डसँग परामर्श गरिसकेका छन् ।

आरजुको नाम जोडिएर सार्वजनिक भएको अडियो अभियुक्तकै भएको पुष्टि भएको दिन पनि कांग्रेस सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । उनले प्रधानमन्त्री निवास बालुवाटार नै पुगेर यसबारे छलफल गरेका हुन् ।

सत्ता र शक्तिकै आडमा अहिलेसम्म पक्राउ परेर अनुसन्धानको दायरामा नतानिएकी आरजु अब भने उम्कन सक्ने अवस्थामा नरहेको चर्चासमेत सुरु भएको छ । तर, पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी भएकै नाताले आरजुलाई अनुसन्धानको दायरामा ल्याउन सरकार हिच्किचाईरहेको छ । किनभने आफ्नो सत्ता कांग्रेस सभापति देउवाकै हातमा रहेको बुझेका प्रधानमन्त्री प्रचण्डले देउवा पत्नी आरजुलाई कानुनी दायरामा ल्याए सत्ताबाट हात धुनुपर्ने कुरामा कुनै दुई मत छैन । त्यसैले उनले तत्काल आरजु राणालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन चाहिरहेका छैनन् ।

प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माले आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको स्पष्ट पारेसँगै कांग्रेस सभापतिको निवासमा अहिले खैलाबैला मच्चिएको हो । अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको भनेर प्रहरी प्रधान कार्यलयले खबर पुर्याएपछि कांग्रेस सभापति देउवा पत्नी आरजुलाई कसरी जोगाउने भन्ने विकल्पको खोजीमा छन् । यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

सन्देश शर्माको आवाज भएको निक्र्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएको थियो । सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ ।

प्रहरी उच्च स्रोतका अनुसार उक्त अडिओ प्रहरीलाई पीडितले जाहेरी बुझाउँदा नै बुझाएको थियो र त्यसमा अनुसन्धान जारी छ। अहिले सार्वजनिक भएकोभन्दा लामो अडिओ आफूकहाँ आएको प्रहरी स्रोतले बताएको छ ।सार्वजनिक भएको अडिओमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई साढे २ करोड र कांग्रेसकै अर्की सांसद मञ्जु खाणलाई ६ करोड रकम बुझाएको उल्लेख छ । खाण पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी पत्नी हुन् । अहिले उनीहरु दुबैजना सार्वजनिक कार्यक्रमहरुमा देखिन छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस