Latest News

रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको बुबा चढ्ने गाडिमाथि तोडफोड

Nepalese Times April 21, 2023 (11 Month ago)    546 Views

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेको बुबा चढ्ने गाडिमाथि तोडफोड भएको छ ।

  

गएराति दमौली बजारमा सन्तोष होटल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको गाडिमा तोडफोड भएको हो । सो गाडि रास्वपा उम्मेदवार वाग्लेका बुबा जीवनराम वाग्लेले प्रयोग गर्दै आएका थिए । उम्मेदवार वाग्लेपनि सन्तोष होटलमै बसेका थिए ।

वाग्लेको गाडिमाथि यसरी तोडफोड हुनुलाई रास्वपाका नेताहरुले कायर मानसिकताको रुपमा लिएका छन् । चुनाव हार्ने भएपछि यस्ता खालका हर्कत भएको र यसबारे तत्काल छानविन गरेर कडाभन्दा कडा कारबाही गर्नुपर्ने रास्वपाका एक नेताले बताएका छन् ।

कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ । उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको छ । गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार हुने उपचुनावअन्तर्गत गएको मध्यरातिदेखि मौन अवधि सुरू लागू भएको छ । बारा २, चितवन २ र तनहुँ १ मा उपचुनाव तोकिएको छ । मौन अवधि सुरू भएसँगै प्रचार प्रसारमा बन्देज लागेको छ ।

निर्वाचन आयोगका अनुसार यस अवधिमा राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् । मतदान सुरू हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको आयोगले जनाएको छ । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानूनमा उल्लेख छ  ।

प्रतिक्रिया दिनुहोस