Latest News

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, अब लिटरको कति ?

Nepalese Times April 1, 2023 (1 Year ago)    281 Views

काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६‍.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको निगमका प्रबन्ध निर्देशक उमेश थानीले जानकारी दिए ।

यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै घाटा ५०० रुपैयाँमा आइपुगेको छ । हाल निगमले एलपी ग्याँसको बिक्री प्रतिसिलिन्डर १८८ सय रुपैयाँमा बेच्दै आइरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य कहिले घट्छ भन्ने प्रश्नमा थानीले भने, ‘सचिवज्यू चीन भ्रमणमा हुनुहुन्थ्यो । उहाँ आज राती मात्रै नेपाल आइपुग्नुहुन्छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत भर्खरै आउनुभएको छ । यसबारे केही निर्णय भइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस