Latest News

कांग्रेस र एमालेका यी उम्मेदवार रवि लामिछानेसँग भिड्ने, कसले मार्ला बाजी ?

Nepalese Times March 19, 2023 (1 Year ago)    349 Views

काठमाडौं । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि १० वैशाखमा उपनिर्वाचन हुने भएसँगै आवश्यक तयारी सुरु भइसकेको छ ।  ती क्षेत्रमा प्रमुख राजनीतिक दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने चासो सुरु भएको छ । चितवन २ मा १० वैशाखमा निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको निर्वाचन आयोगले अन्य दुई क्षेत्रमा पनि सोही मितिमा निर्वाचन गर्ने तयारी अगाडि बढाएको छ । औपचारिक घोषणा हुन भने बाँकी छ ।

निर्वाचनमा हुन सक्ने सम्भावित समीकरणलाई लिएर दलहरूले अहिले नै उम्मेदवारीबारे औपचारिक छलफल थालेका छैनन्, तर आकांक्षीको भने चर्चा सुरु भएको छ । शुक्रवार मात्रै बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र पनि खाली भएको छ ।

त्यस अगाडि रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपति निर्वाचित भएसँगै उनले सोमबार सांसद पदबाट राजीनामा दिएपछि तनहुँ १ रिक्त भएको थियो ।

कांग्रेस कार्यसम्पादन समिति बैठकले १० वैशाखमा तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । नामबारे निर्णय गरेर उपयुक्त समयमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको हो ।

कांग्रेसबाट चितवन २ मा यसअघि पराजित पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ प्रमुख दाबेदारका रूपमा देखिएका छन् । उनले यस क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि आफूलाई स्वतः निर्वाचित गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए । तर, आयोगले दोस्रो मत पाएकालाई स्वतः निर्वाचित हुने कानुनी व्यवस्था नरहेको जानकारी गराएको थियो ।

कांग्रेसका चितवन सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठले पनि उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका छन् । यसबाहेक केन्द्रबाट अर्थविद् डा. स्वर्णिम वाग्लेको नाम पनि चर्चामा छ । जिल्ला सभापति खनालले स्ववियु निर्वाचनपछि जिल्लामा आफूसहितका आकांक्षीका विषयमा छलफल हुने बताए ।

एमालेले चितवन २ को उपचुनावको सम्भावित उम्मेदवारबारे कार्यकर्ता तहमा प्रारम्भिक छलफल सुरु गरेको छ । अहिलेसम्म जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, गत निर्वाचनका उम्मेदवार कृष्णभक्त पोखरेल, डा. तिलचन्द्र भट्टराई, पूर्वजिल्ला अध्यक्ष तथा पूर्वप्रदेश सांसद विजय सुवेदी र गोपी श्रेष्ठको नाममाथि छलफल सुरु भएको एमाले चितवनले जनाएको छ ।

यस्दै राष्ट्रिय जनमोर्चाले चितवन २ को उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचनको प्रचारप्रसारका लागि महासचिव मनोज भट्टको नेतृत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत बनाइएको अध्यक्ष चित्रबहादुर केसीको भनाई छ ।

०७४ को निर्वाचनमा सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल विजयी भएका थिए । तर, ०७९ को निर्वाचनमा भने पोखरेल तेस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ४९ हजार दुई सय ६४ मत ल्याएर विजयी बन्दा पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३ मत ल्याएका थिए ।

तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, पूर्वप्रदेश सभा सदस्य तथा पूर्वप्रदेशमन्त्री दोबाटे विश्वकर्मा र सरिता गुरुङको नाम चर्चामा छ । तनहुँ जिल्ला सभापति जितप्रकाश आलेका अनुसार केन्द्रबाट नाम माग नभएकाले जिल्लाबाट केही निर्णय भएको छैन ।

कांग्रेसबाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त तनहुँ १ मा पनि उपनिर्वाचन हुने निश्चित भएको हो । त्यहाँ एमालेबाट पूर्वआइजिपी सर्वेन्द्र खनाल र एकबहादुर राना उम्मेदवार बन्ने चर्चा छ । पौडेलले सातदलीय गठबन्धनबाट २५ हजार तीन सय १३ मत पाएर विजयी बन्दा प्रतिद्वन्द्वी रानाले १९ हजार नौ सय २५ मत पाएका थिए ।

बारा २ मा भने एमालेले गत मंसिरको निर्वाचनमा उम्मेदवार उठाएको थिएन । एमालेले जसपाका रामसहायप्रसाद यादवलाई समर्थन गरेको थियो । यादव १३ हजार आठ सय २२ मत प्राप्त गरी विजयी भएका थिए भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शिवचन्द्र कुसवाहले १३ हजार चार सय ६८ मत पाएका थिए । यो क्षेत्रमा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव मैदानमा उत्रिने सम्भावना छ ।

उपनिर्वाचनमा उम्मेदवारबारे पार्टीले सोचिनसकेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । गठबन्धनको अन्तिम टुंगो लागेपछि उम्मेदवारबारे छलफल हुने  उनले बताएका छन् ।

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको बाटो खुला भएको छ । सप्तरी– २ जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएयता नै रामसहायलाई उपराष्ट्रपति बनाएर यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने रणनीतिमा रहे पनि जसपाले औपचारिक निर्णय भने गरेको छैन ।

यादव स्वयंले पनि उम्मेदवारी दिनेबारे स्विकारेका छैनन् । तर, जसपाका नेताहरू संसद्मा यादवको आवश्यकता रहेकाले उनी उम्मेदवार बन्न सक्ने सम्भावनाबारे खुलेरै बोलिरहेका छन् । जसपाका प्रवक्ता मनीष सुमन पार्टीभित्र नेता–कार्यकर्ताको दबाब रहेको अवस्थामा यादव बारा–२ को उम्मेदवार बन्न सक्ने बताउँछन् ।

बारा २ को समानुपातिक मतपरिणाम  त्यहाँ १३ हजार २४२ मत सहित जसपा पहिलो स्थानमा छ ।  कांग्रेस ११ हजार १७९ सहित दोस्रो स्थानमा । त्यसपछि एमालेले नौ हजार १९३, जनमत पार्टीले आठ हजार ८४६, लोसपाले ४ हजार २३५, नागरिक उन्मुक्तिले तीन हजार ७९४, माओवादीले तीन हजार २६५, नेपाल संघीय समाजवादी पार्टीले दुई हजार ३६६, एकीकृत समाजवादीले एक हजार ९९६, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९९२ मत ल्याएको थियो । समानुपातिक भतलाई आधार मान्ने हो भने बारा २ मा जसपाका उपेन्द्र यादवले जित्ने सम्भावना बलियो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस