Latest News

तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रचण्डको तयारी, कांग्रेसको भागमा कुन-कुन मन्त्रालय ?

Nepalese Times February 27, 2023 (1 Year ago)    311 Views

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई सरकारमा सहभागि गराएर मन्त्रिषरिषद् विस्ता गर्ने तयारी गरेका छन् । अउपचारिक रुपमा सरकारबाट बाहिरिने नेकपा एमालेले निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डले अबको केही दिनमै नेपाली कांग्रेससहितको सरकार निर्माण गर्न लागेका हुन् ।

तत्कालीन सत्ता गठबन्धनका तेस्रो र चौथो ठूलो दल रास्वपा र राप्रपा पनि सरकारबाट बाहिरिइसकेका छन् । राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद विस्तार र पुनर्गठन गर्दा चुनावलाई थप सहयोग हुने र कतै आशंकाहरु पनि बाँकी नरहने भएकाले प्रधानमन्त्रीले यसबारेमा चाँडै निर्णय लिने तयारी गरेका हुन् ।

एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीलाई नयाँ गठबन्धनका दलहरुलाई मन्त्रिपरिषदमा सामेल गर्न सहज भएको कांग्रेस नेताहरुले बताएका छन् । अहिले प्रधानमन्त्री प्रचण्डको साथमा एमालेले सम्हालेका ८ सहित १६ मन्त्रालय छन् । माओवादी केन्द्र र जनमत पार्टीबाहेक सरकारबाट अरु सबै दल बाहिरिएकाले पनि राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने विषयमा बालुवाटार बैठकमा पनि छलफल भएको थियो ।

बालुवाटारको ८ दलीय बैठकमा सहभागी एक नेताले भने, ‘राष्ट्रपति चुनावमा भोट तान्न एमालेले खेल्न सक्ने भएकाले पनि नयाँ गठबन्धनको सरकार गठन गरेर आपसी अविश्वास र आशंकालाई ठाउँ दिनुहुँदैन भन्ने कुरा आएको छ । नत्र राष्ट्रपति चुनावमा केही मत तलमाथि हुनसक्छ । सबै दल सरकारमा गएपछि एमालेले खेल्न पाउँदैन ।’

फागुन २५ मा राष्ट्रपति चुनाव हुँदैछ । चैत ३ मा उपराष्ट्रपति चुनाव हुनेछ भने चैत १२ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसैले यसबीचमा मन्त्रिपरिषदलाई पूर्णता नै दिने कि आठै दलका केही मन्त्री नियुक्त गरेर बाँकी मन्त्री चैत १२ पछि नियुक्त गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले यसबारे शीर्ष तहमा छलफल भएर बाँडफाँट हुने बताएका छन् । सरकारमा ८ दलको सहभागिता निश्चित छ । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राखेकाले उनलाई समेट्नेबारे कुनै छलफल भएको छैन ।

रविलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस पनि तयार देखिएका छैनन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार रवि र राजेन्द्र लिङदेन ओलीसँगै रहून् भन्ने चाहना नेताहरुको छ । त्यस्तो हुँदा सरकारमा ८ दलमात्र हुनेछन् ।

मन्त्रालय बाँडफाँड हुँदा अब एमाले, राप्रपा र रास्वपाले छाडेकासहित प्रधानमन्त्रीसँग यसअघि नै जसपाका लागि भनेर राखिएका मन्त्रालय बाँडिनेछन् । हाल प्रधानमन्त्रीसँग रहेको गृह मन्त्रालय माओवादीले नै राखेर अर्थ मन्त्रालयले कांग्रेसले लिने समझदारी भइसकेको बताइन्छ ।

यसअघि एमालेले पाएका मन्त्रालय कांग्रेसले पाउने मोटामोटी सहमति भएको छ । जसपा र नेकपा एसले तीन तीनवटा मन्त्रालय दाबी गरेका छन् । यसअघि जसपाले २ मन्त्रालय अस्वीकार गेरर सरकारमा गएको थिएन । प्रतिनिधिसभामा जसपाको १२ र नेकपा एसको १० सीट छ ।

यसअघि भन्दा माओवादीले कम्तिमा एउटा मन्त्रालय बढी पाउने निश्चित भएको छ भने कांग्रेसले एमालेले पाएको नघट्ने र थप एक मन्त्रालय पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
जसपालाई ३ मन्त्रालय र नेकपा एसलाई २ मन्त्रीसहित एक राज्यमन्त्री दिने सम्भावना छ । नागरिक उन्मुक्ति पनि एक मन्त्रीसहित सरकारमा जाने तयारी छ ।

राष्ट्रिय जनमोर्चा सरकारमा जाने वा नजाने निर्णय भएको छैन । लोकतान्त्रिक समाजवादी पार्टीले एउटा मन्त्री पाउने निश्चित छ । यद्यपि उसले २ वटा मन्त्रालय मागेको छ ।

प्रतिक्रिया दिनुहोस