Latest News

कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति, एमालेले के गर्ला ? (भिडिओसहित)

Nepalese Times February 24, 2023 (1 Year ago)    246 Views

काठमाडौं । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिबारे सहमति नजिक पुगेका हुन् ।

उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपाले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ, जसलाई जसपा र माओवादीको समर्थन छ । तर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको शर्त नभएको माओवादी नेताहरुले बताएका छन् ।

उपराष्ट्रपति जसपालाई दिने र आफूहरुले राष्ट्रपति लिनेगरी छलफल भइरहेको कांग्रेस नेताहरुले बताएका छन् ।  आज नै नेपाली कांग्रेससहित चार दलले राष्ट्रपति उम्मेदवार टुंगो लगाउने तयारी गरेका छन् । छलफलमा सहभागी कांग्रेसका महामन्त्री गगन थापाले आज बेलुकासम्ममा राष्ट्रपति उम्मेदवार तय गरिने बताएका छन् ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमतिसहित कांग्रेसलाई राष्ट्रपति दिनेबारे दलहरू सहमतिनजिक रहेको स्रोतको भनाइ छ। दलहरूले राष्ट्रपति उम्मेदवार तय गरेपछि आज नै अरू साना दलहरूसँग पनि छलफल गर्ने भएका छन्।

जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चालगायत दलका शीर्ष नेताहरूसँग चार दलका शीर्ष नेताहरूले संयुक्त छलफल गर्ने तयारी रहेको कांग्रेसका एक नेताले जानकारी दिए।

शनिबार राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ। कांग्रेससहित दलहरूले चुनावको बेलाको गठबन्धन ब्युँताउन खोजेका छन् ।

राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएसँगै नेकपा एमाले भने सरकारबाट बाहिरिने भएको छ । नेता योगेश भट्टराईले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई माओवादीलाई सहयोग नगर्ने अवस्थामा आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसबारे निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस