Latest News

चितवन २ मा रवि लामिछानेविरुद्ध को-को उत्रिए मैदानमा ? (भिडिओसहित)

Nepalese Times February 22, 2023 (1 Year ago)    223 Views

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गतेका लागि तय भए भएको उपचुनावमा उम्मेदवारी घोषणाको क्रम सुरु भएको छ ।
यसअघि यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएकोमा उनको नागरिकता प्रकरणमा सांसद पद खारेज भएसँगै उपचुनाव हुन लागेको हो ।

लामिछानेको नागरिकता प्रकरण अब मिलिसकेकोले यो क्षेत्रमा फेरि पनि रवि लामिछानेलाई नै उम्मेदवार बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी छ ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाले रवि लामिछानेलाई नै उम्मेदवार बनाउने भएपछि अब यो क्षेत्रमा अरु राजनीतिक दलहरुबाट को–को उम्मेदवार बन्लान् ? भन्ने चासोसमेत बढेको छ ।

यसैक्रममा राष्ट्रिय जनमोर्चाले रवि लामिछानेविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको छ । वैशाख १० गतेका लागि तय भएको उपचुनावमा आफ्नो पार्टीले चितवन २ मा उम्मेदवारी दिने घोषणा नै गरिसकेको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । अमेरिकाले रवि लामिछानेलाई साथ दिएको र शक्ति राष्ट्रहरुको आशिर्वाद लामिछानेलाई रहेकोले आफूहरुले उम्मेदवारी दिन लागेको केसीको भनाइ छ । २ देशको नागरिकता बोकेर पार्टीको नाम र चुनाव चिन्हसमेत उतैको मिलाएकोसमेत केसीको आरोप छ ।

बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको ‘स्वतन्त्र पार्टी’को भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको जनमोर्चाले निकालेको विज्ञप्तिमा भनिएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाउन जाँदा पनि जनमोर्चाले लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेर देशको साबभौम सत्ता र अखण्डता जोगाएको भन्दै जनमोर्चाले धन्यबाद ज्ञापन गरेको थियो।

लामिछानेको गृहमन्त्रीमा पुर्नबहाली हुन नसकेको खुसी ब्यक्त गर्दै आएको जनमोर्चाले उनको बिरुद्धमा उम्मेदवारी दिने निर्णय गरेको हो। जनमोर्चाको सो निर्णयसँगै औपचारिक रुपमा चितवन– २ मा उम्मेदवारी दिने पहिलो राजनीतिक दल पनि भएको छ । चितवन– २ मा उम्मेदवारी दिने निर्णय लिए पनि सो पार्टीबाट को उम्मेदवार हुने त्यो भने जनमोर्चाले सार्वजनिक गरेको छैन ।

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट फेरि पनि उमेश श्रेष्ठलाई नै उम्मेदवार बनाउने चर्चा चलिरहेको छ । तर कांग्रेसका अहिलेका जिल्ला सभापति राजेश्वर खनाल र निवर्तमान सभापति जीतनारायण श्रेष्ठले पनि उमेदवारका लागि दाबी गरेका छन् । यस्तै नेकपा एमालेबाट यसअघि दुईपटक चितवन–२ मा निर्वाचित भइसकेका कृष्णभक्त पोखरेलले पार्टीले फेरि उमेदवार बनाए पछि नहट्ने बताइरहेका छन् ।

वैशाख १० गते हुने निर्वाचनमा नेकपा एमालेले रवि लामिछानेलाई सघाउने चर्चा पनि छ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रविको पक्षमा अभिव्यक्ति दिइरहेका छन् । नेता पोखरेलले एमालेले रविलाई सघाउँछ भन्ने चर्चामा आफूलाई त्यस्तो नलागेको बताउँदै आएका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ मा रवि लामिछाने अत्यधिक मतका साथ निर्वाचित भएका थिए । लामिछानेले ४९ हजार २६४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत ल्याएका थिए । मंसिर ४ को निर्वाचनमा चितवन–२ मा ८३ हजार ९५६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस