Latest News

राष्ट्रपति पदमा कांग्रेसले माग्यो माओवादीको साथ, के गर्लान् प्रचण्ड ?

Nepalese Times February 20, 2023 (1 Year ago)    208 Views

काठमाडौं । यहि फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । गठबन्धनभित्र अनेकथरी शंका उत्पन्न भईरहँदा राष्ट्रपतिमा दाउ छोप्ने प्रयासमा नेपाली कांग्रेस रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक सहमतिमै नयाँ राष्ट्रपति चुनिने बताउँदै गर्दा सत्ता गठबन्धनमा रहेका दलबीच शंका बढ्दै गएको हो । कांग्रेस भने प्रचण्डबाट सहमतिको नारा आउँदै गर्दा आशा जगाएरै बसिरहेको छ ।

नयाँ राष्ट्रपतिका विषयमा सत्ता साझेदाराहरुबीच एकअर्काप्रति शंका बढेपछि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटार–बालकोट आउजाउ पनि बढ्दै गइरहेको छ । यसै क्रममा नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा मिलेर जान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक प्रस्ताव गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित शीर्ष नेता आइतबार बेलुकी बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसले उठाउने उम्मेदवारलाई माओवादीबाट सहयोग गर्न औपचारिक प्रस्ताव गरेका हुन् । ‘राष्ट्रपति निर्वाचनमा हामीलाई सहयोग गर्नुहोस् भनेर सभापतिजीले प्रधानमन्त्रीजीलाई प्रस्ताव राख्नुभएको छ । प्रधानमन्त्रीजीले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ,’ छलफलमा सहभागी कांग्रेसका एक नेताले बताएका छन् ।

कांग्रेसले चुनावका बेलाको गठबन्धनलाई ब्युँताउने प्रयास गरिरहेको छ । गत पुस २६ गते प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसका नेताहरू प्रधानमन्त्री दाहालसँग भेटघाटलाई तीव्रता दिइरहेका छन्। को पहिले प्रधानमन्त्री बन्ने भन्नेमा सहमति नहुँदा चुनावका बेलाको गठबन्धन भत्केको थियो। माओवादी अध्यक्ष प्रचण्ड एमालेसहित ७ दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

कांग्रेसले पुराना कुरा भुलेर राष्ट्रपतिमा सहयोग गर्न माओवादीसँग आग्रह गरेको हो । संसदको सबैभन्दा ठूलो दल भएको र मतभार पनि धेरै भएकोले राष्ट्रपतिमा स्वभाविक रूपमा आफूहरूको दाबी रहेको कांग्रेसका नेताहरूले बताएका छन् । कांग्रेसले कसलाई राष्ट्रपति उम्मेदवार बनाउने भनेर औपचारिक निर्णय नगरेको भएपनि नेता रामचन्द्र पौडेल वा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई राष्ट्रपति उम्मेदवार बनाउने तयारी रहेको छ ।

सभापति देउवा पौडेललाई उम्मेदवार बनाउने पक्षमा उभिएका छन्। कांग्रेसले राष्ट्रपति निर्वाचनमा सहयोगको औपचारिक प्रस्ताव राखेका बेला माओवादीले पनि पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीसहित माओवादीका नेताहरू राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने प्रयासमा छन्। तर सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत पुस १० को सहमतिअनुसार राष्ट्रपतिमा एमालेलाई सहयोग गर्नुपर्नेमा छन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटार र बालकोटमा पछिल्ला समय भएका भेटवार्तामा राष्ट्रपति निर्वाचनबारे नै छलफल भए पनि कसलाई उम्मेदवार बनाउनेजस्ता विषयमा सहमति हुन सकिरहेको छैन। यही फागुन १३ गते राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्नुपर्ने तालिका छ। राष्ट्रपति निर्वाचन भने फागुन २५ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस