Latest News

देशभर मतदान सुरु, कहिलेबाट सुरु हुन्छ मत गणना ?

Nepalese Times November 20, 2022 (1 Year ago)    648 Views

काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन् ।

अहिले शान्तिपूर्ण वातारणमा मतदान भइरहेको र आफ्नो मताधिकार ढुक्कले प्रयोग गर्न पाएको धादिङ क्षेत्र नं. २ मा पर्ने सु्नखानी मावि मतदान केन्द्रका एक मतदाताले बताए । यो मतदान केन्द्रमा मतदाताहरुले ढुक्कसँग मत खसालिरहेका मतदान केन्द्रमा रहेका रास्वपाका केन्द्रीय सदस्य एवम् समानुपातिक उम्मेदवार विष्णु कुमार श्रेष्ठले नेप्लिज टाइम्सलाई बताए ।

मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज भइरहेको संसदीय चुनावमा ७० प्रतिशत बढी मत खस्ने बताएका छन्। आइतबार बिहान मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्र मत खसालेपछि थपलियाले भने- ७० प्रतिशत बढी मत खस्छ भन्नेमा हामी ढुक्क छौं।

साँझ ५ बजे मतदान सकिएपछि ७ बजेसम्म मत पेटिका संकलनको काम गर्ने र ८-९ बजेबाट मतगणना सुरू गर्ने योजना रहेको उनले जानकारी दिए। ‘सुरूमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना हुन्छ। ८ दिनमा सबै नतिजा सार्वजनिक गरिसक्ने योजना छ,’ थपलियाले भने।

प्रतिक्रिया दिनुहोस