Latest News

धादिङ–२ मा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

Nepalese Times November 11, 2022 (1 Year ago)    448 Views

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावमा धादिङ क्षेत्र नं. २ मा त्रिपक्षीय भिडन्त हुने भएको छ । यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन, नेकपा एमालेसहितको गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तिब्र प्रतिष्पर्धा हुने भएको हो ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले पार्टी जिल्ला सभापति रामनाथ अधिकारीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने राप्रपासँग गठबन्धन गरेर केन्द्रीय सदस्य खेमप्रसाद लोहनीलाई उम्मेदवार बनाएको छ । यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सफल उद्यमी बसुमायाँ तामाङलाई उम्मेदवार बनाएको छ । लोहनी ०७४ मा यही क्षेत्रबाट निर्वाचित सांसद् हुन् भने ०५६ मै धादिङ–२ बाट चुनाव जितेका अधिकारी अहिले चौथोपटक चुनावी मैदानमा छन् । रास्वपाका बसुमायाँ तामाङ भने नयाँ अनुहार हुन् ।

०७४ मा माओवादी केन्द्रसँगको गठबन्धनमा चुनाव जितेका लोहनीले यसपटक राप्रपाको समर्थनमा चुनावी मैदानमा रहेका छन् । वाम गठबन्धनबाट उम्मेदवार रहेका लोहनीले ३६ हजार ६५४ मत ल्याएर विजयी भएका थिए । यसपटक भने माओवादी केन्द्रले एमालेसँग नभई कांग्रेससँग गठबन्धन गरेकोले पनि लोहनीलाई चुनावी परिणाम हात पार्न त्यति सजिलो छैन ।

यस्तै सत्ता गठबन्धनका उम्मेदवार अधिकारी पनि ढुक्क हुने अवस्था छैन । आम नागरिकहरुले विकल्प खोजिरहेको समयमा रास्वपाले सफल उद्यमी बसुमायालाई उम्मेदवार बनाएकाले मतदाताले विद्रोह गरे भने लोहनी र अधिकारीलाई अप्ठ्यारो पर्ने देखिन्छ ।

कांग्रेसका दिलमान पाख्रिनले ०७४ को चुनावमा ३६ हजार १५ मतसहित झिनो मतान्तरले पराजित भएकाले यसपटक पनि चुनाव पाउने आसमा रहेका थिए । अन्तिम समयमा अधिकारीले टिकट खोसेपछि उनी चुनाव प्रचारमा मन लागेर नखटिँदा अधिकारीलाई जितको सुनिश्चित गर्न असहज भईरहेको छ ।

राप्रपासँगको तालमेल र टिकट वितरणले एमालेभित्र पनि असन्तुष्टि बढेकोेले धेरै मतदाता र कार्यकर्ताहरुले नै विद्रोह गरेमा भोट अन्त जाने देखिन्छ । राप्रपासँग तालमेल गरेपछि एमालेका जिल्ला उपाध्यक्षसमेत रहेका पूर्वसांसद धनबहादुर घलेले पार्टी परित्यागको घोषणा गर्नुले पनि यो पटक नेकपा एमालेले जित हाँसिल गर्नेमा ढुक्क हुन सक्ने ठाउँ छैन ।

यो निर्वाचन क्षेत्रमा रुवी भ्याली, गंगाजमुना, खनियाबास, त्रिपुरासुन्दरी, नेत्रावती, निलकण्ठ र ज्वालामुखी गाउँपालिका रहेका छन् ।
वडाध्यक्षले पाएको मत हेर्दा यो पटकको स्थानीय तह निर्वाचनमा कांग्रेसको २९ हजार ९६५, एमालेको २५ हजार ९३८, माओवादी केन्द्रको १४ हजार ३८०, राप्रपाको ५ हजार २८७, नेकपा एकीकृत समाजवादीको ३४५६ र जसपाको एक हजार ६० मत छ । यसआधारमा कांग्रेसका अधिकारी १६ हजार ५७६ मतले अघि देखिन्छन् । तर, आमनिर्वाचनमा स्थानीय तहकै हिसाबले मत नखस्ने निश्चित नै छ ।

प्रतिक्रिया दिनुहोस