Latest News

काठमाडौंबाटै गठबन्धन तोड्ने माओवादीको घोषणा, के गर्लान् देउवा ?

Nepalese Times October 11, 2022 (1 Year ago)    510 Views

काठमाडौं । राजधानी एवम् देशको केन्द्र  काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. १० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेको भनाइ छ ।

सत्ता गठबन्धनको सिट बाँडफाँटअनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो । त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका थिए ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएको थियो । प्रदेशसभामा पनि सत्ता गठबन्धनका एकभन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।

काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

यस्तै सत्ता गठबन्धनमा आबद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् ।

सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस