Latest News

बाबुरामकी छोरी मानुषीलाई हराउन काठमाडौं ७ मा गणेश पराजुली, के-के छन् एजेण्डा ?

Nepalese Times October 10, 2022 (1 Year ago)    1506 Views

काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा रोचक भिडन्त हुने भएको छ । यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई उम्मेदवार बनेकी छिन् ।

नेकपा एमालेले भने श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरेले एमालेबाट टिकट पाएसँगै असन्तुष्ट बनेका रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संस्थापक केन्द्रीय सदस्य गणेश पराजुलीलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेका चर्चित अनुहार मानन्धरले बागी उम्मेदवारी दिनु र पार्टीले घिमिरेलाई टिकट दिनुले पनि एमालेको हार निश्चित जस्तै छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईकी छोरी मानुषी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरुको साझा उम्मेदवार हुन् ।

तर, यो पटकको चुनावमा पुराना राजनीतिक शक्तिहरुलाई चुनाव जित्न सकस देखिन्छ । यसअघिको विश्वासलाई घात गरेकोले मतदाताले यो पटक नयाँ अनुहार र नयाँ राजनीतिक शक्तिलाई हेर्न चाहिरहेको स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीको भनाइ छ ।

यो पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मतदाताको आकर्षण बढिरहेको र देश बनाउने स्पष्ट भिजन आफूसँग रहेकोले पनि आफूले कुनै पनि हालतमा चुनाव जित्ने उनको दाबी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको लागि घण्टी चुनाव चिन्हबाट उनको उमेद्वारी दर्ता गराएका हुन् ।

आइतबार काठमाडौं महानगरपालिकाको नापतौल विभाग बालाजुमा रहेको निर्वाचन आयोगको कार्यालयमा उनले प्रस्तावक बैंङकर गजेन्द्रमान श्रेष्ठ र समाजसेवी दानबहादुर अधिकारीको समर्थनमा उमेद्वारी दर्ता गराएका हुन् ।

उमेद्वारी दर्तापछि उनले बेथिति र भ्रष्टाचारको अन्त्य गर्दै संविधान, ऐन र कानुनलाई आधार मानेर सुशासनको विकास गर्न आफू प्रतिबद्ध रहेको बताए ।

देशभित्र उपलब्ध रहेको सीप र पुँजी तथा एफडीआईको माध्यमबाट वैदेशिक लगानीको अधिकतम उपयोग गरेर हाई टेक, टुरिजम, एग्रो टुरिजम, एग्रो इन्डस्ट्री, एग्रीकल्चर र जलविद्युत जस्ता उद्योगलाई प्राथमिकतामा राखेर उत्पादनलाई देशभित्र तथा विदेश निर्यात गर्दै निर्यातलाई अध्याधिक सरलीकरण गर्दै आयातलाई प्रतिस्थापन गरेर राष्ट्रको समग्र जिडिपीमा योगदान पु¥याउने तथा देशब्यापी रुपमा अधिकभन्दा अधिक रोजगारी सृजना गर्दै युुवा जनशक्तिलाई देशभित्रै रहन सक्ने वातावरण बनाउने बताए ।

त्यस्तै संसारभर छरिएर रहेका क्षमतावान नेपाली जनशक्तिलाई स्वदेशमा फर्काएर देशको सर्वाङ्गिन विकासमा योगदान दिन सक्ने वातावरण निर्माण गर्ने उल्लेख गरे । नेता पराजुली खोटाङमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका एक सफल उद्यमी तथा निर्यात ब्यवसायी समेत हुन् ।

उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा २ सय भन्दा बढीलाई रोजगारी दिएका छन् । उनी लायन्स क्लबमा डिस्ट्रिकमा चिफ मिडिया कोअर्डिनेटर भएर सामाजिक अभियानमा तथा नेपाल निर्यात परिषद (ईकोन) बाट ब्यवसायिक क्षेत्रको नेतृत्वमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस