Latest News

एमालेका अर्का नेताले पनि गरे बिद्रोहको घोषणा

Nepalese Times October 8, 2022 (1 Year ago)    906 Views

काठमाडौं । जनता समाजवादी पार्टी जसपालाई सुनसरी–१ दिइएपछि नेकपा एमालेका असन्तुष्ट नेताहरुले विद्रोहको तयारी गरेका छन् ।असन्तुष्ट नेताहरुले शनिबार भेला गरेर पार्टी नेतृत्वसँग निर्णय सच्याउन आग्रह गरेका छन् ।

पार्टी नेतृत्वलाई आज राति १२ बजेभित्र निर्णय सच्याउन समय दिएको र निर्णय नसच्चिए विद्रोह हुने धरानका पूर्वमेयर मनोज मेयाङ्बोले बताए । सुनसरी–१ बाट निवर्तमान सांसद जयकुमार राईको नाम एकल रुपमा सिफारिस भएको थियो ।

तर जसपासँग तालमेल गर्दा यो क्षेत्र जसपाको भागमा परेको छ । ‘हामीले सर्वसम्मत रुपमा जयकुमार राईको नाम पठाएको हो । तर नेतृत्वले बेइमानी गरेको छ’, मेयाङ्बोले भने । पार्टीले निर्णय नसच्याए बागी उम्मेदवारी दिने समेत भेलाले निर्णय गरेको छ । पूर्वमेयर मेयाङ्बोले नै बागी उम्मेदवारी दिने छन् ।

यस्तै भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।

एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् । पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन् ।

अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् । ओलीले रावलको क्षेत्रमा भपट बोहोरालाई टिकट दिएका थिए । बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस