Latest News

अन्ततः भीम रावलले स्वतन्त्र उम्मेदवारी दिने, कुन निर्वाचन क्षेत्र रोज्ने भए ?

Nepalese Times October 8, 2022 (1 Year ago)    1787 Views

काठमाडौं । एमाले नेता भीम रावलले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । सर्वसम्मत उम्मेदवार सिफारिस भएको भएपनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् ।

अछाम १ मा एकल रुपमा सिफारिस भएर पनि टिकट नपाएका रावलले पार्टीले टिकट नदिएकोले अब आफू स्वतन्त्र उम्मेदवार बन्न लागेको बताएका उनी निकट एक नेताले बताए ।

अछाममा रावलको नाम सिफारिस भएपनि झपट बोहराले टिकट पाएका छन् । बोहरा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सभामा विजयी भएर आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।

नेकपा विभाजन पछि अर्थमन्त्री छोडेर एमालेमा बसेका बोहरा अहिले अछाम इन्चार्ज हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको नाम सिफारिस गर्दा आफू कुनै क्षेत्रमा नलड्ने र पार्टी जिताउने बताएका बोहरालाई पार्टीले टिकट दिएको छ ।

रावल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए। २०६४ को संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

दशौँ महाधिवेशनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । उनले पार्टीको सल्लाहकार पद स्वीकारेका छैनन् ।

यस्तै एमाले नेता घनश्याम भुसालले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। यसअघि उनले टिकट पाउने कि नपाउने टुंगो नभएकामा अब भने नपाउने पक्का भएको स्रोतले बताएको छ।

एमालेनिकट स्रोतका अनुसार भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा राप्रपाका दिपक बोहोराले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ।

२०७४ सालको निर्वाचनमा बोहोरालाई भुसालले हराएका थिए। बोहोरा कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार थिए भने भुसाल वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार थिए।

एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए। आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति अनुदार बन्दै आएका छन्।

अर्का नेता सुरेन्द्र पाण्डेले भने अहिलेसम्म टिकट पाउने कि नपाउने भन्नेबारे टुंगो लागेको छैन। चितवनमा एमाले नेता कृष्णभक्त पोखरेलले प्रतिनिधि सभा उम्मेदवारको टिकट पाउँदा पाण्डेको भने टुंगो नलागेको हो।

पोखरेलले चितवन क्षेत्र नम्बर २ बाट टिकट पाएका छन्। पाण्डेको भने चितवन क्षेत्र नम्बर १ हो। उनी २०७० र २०७४ सालमा सोही क्षेत्रबाट विजयी भएका थिए।

स्रोतका अनुसार चितवन क्षेत्र नम्बर १ मा एमाले अध्यक्ष केपी ओलीले जे एन थपलियालाई टिकट दिन चाहेका छन्। एमालेभित्र अन्तरसंघर्ष हुदा पाण्डे माधव नेपालनिकट थिए। माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्ने बेलामा मात्र पाण्डेले ओलीलाई साथ दिएका हुन्। नेकपाकालीन अवस्थामा समेत पाण्डे ओलीका आलोचक थिए।

माधव नेपाललाई साथ नदिइकन एमालेमा रहेपछि भने पाण्डेले ओलीका हरेक कदमको बचाउ गर्दै आएका छन्। पछिल्लो समय पाण्डेले सार्वजनिक रूपमै ओलीको प्रशंसा गर्न थालेका थिए। दसौं महाधिवेशनमा समेत ओलीले पाण्डेलाई उपाध्यक्ष बनाएका थिए।

प्रतिक्रिया दिनुहोस