Latest News

सेना परिचालनका लागि बाटो खुल्नेगरी राष्ट्रपतिद्वारा विधेयक स्वीकृत

Nepalese Times September 25, 2022 (1 Year ago)    509 Views

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएकी छन्। राष्ट्रपति भण्डारीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्।

राष्ट्रिय सुरक्षा परिषद्को १७ भदौको सिफारिस र २७ भदौको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट‍्रपतिले सेना परिचालनको स्वीकृति दिएकी हुन्। नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले सेना परिचालनको लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रमाणीकरण गरेका विधेयकहरू
१ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक
२ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

पटक पटक विवादमा परेको नागरिकता विधेयक प्रमाणीकरण नगरेकोबारेमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको हो। आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो ।

रिट निवेदक सुनिलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिए । उनले अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको पनि भनिएको छ।

यसअघि विवादित नागरिकता विधेयकलाई संघीय संसदका दुवै सदनले सर्वसम्मत पास गरेर प्रमाणीकरणका लागि शीतल निवास पठाएका थिए। तर उक्त विधेयकलाई राष्ट्रपतिले दुवै पटक प्रमाणीकरण गरिनन्। पहिलो पटक राष्ट्रपतिले १५ दिनमा प्रमाणीकरण नगरी संसदमै फिर्ता पठाएकी थिइन् ।

दोस्रो पटक उनले संघीय संसदको आयु पनि सकिएको अवस्थामा प्रमाणीकरण गर्नु आवश्यकता नै नरहेको निर्णय लिएकी थिइन्।

संविधानतः संसदबाट पास भएका कुनै पनि विधेयक एक पटक पुनर्विचारका लागि संसदसमक्ष फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई छ। तर दोस्रो पटक उनले त्यसो गर्न सक्दिनन्। प्रमाणीकरण गर्नुको अर्को विकल्प हुँदैन।

दोस्रो पटक पनि प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयविरुद्ध अधिवक्ताहरु सुनिलरञ्जन सिंह, सुनिलकुमार यादव, सागर बराल, देव शर्मा र सोनु रौनियारले सर्वोच्चमा रिट हालेका थिए।

प्रतिक्रिया दिनुहोस