Latest News

सिनामंगलको होटलको सिसीटीभी फुटेजमा सन्दीप र पीडित किशोरीको देखियो यस्तो दृश्य !

Nepalese Times September 7, 2022 (1 Year ago)    450 Views

काठमाडौं । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।

भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो।

प्रमाणस्वरूप प्रहरीले काठमाडौं-९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ। सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।

सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक-पटक बलात्कार गरेको प्रहरीसँग भनेकी छन्। जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ। बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ।

घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ।

घटनाको अनुसन्धान प्रहरी वृत्त गौशाला र परिसरले गरिरहेको छ। लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।

उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ। सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।

प्रतिक्रिया दिनुहोस