Latest News

आज सार्वजनिक बिदा

Nepalese Times September 2, 2022 (1 Year ago)    252 Views

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा भदौ १७ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि सरकारले बुधबार एक सूचना जारी गर्दै १७ गतेको बिदा कटौती गरेको बताएको थियो।

वैशाख १ गतेको राजपत्रमा उल्लेख गरिएको बिदा जेठ १० गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार कटौती गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र सिंह विष्टले जारी गरेको सूचनामा भनिएको थियो।

बिहीबार पुन: सूचना जारी गरेर सरकारी बिदा यथावत रहेको प्रदेश सरकारले जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जारी गरेको सूचनामा बिहीबारकै मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ।

गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् ।

नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि यसको माैलिक पृष्ठभूमिको ठूलो महत्व छ । खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृती, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ । विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आएको पर्व हो, गौरापर्व ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा ‘बिरुडा’ धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् ।

गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा-आजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

विशेष नेपाली माैलिकता बोकेका यस्ता गीतका माध्यमबाट एकअर्काका दुःख-सुख: बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठूलो पर्वको रूपमा मनाईन्छ ।

आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका वासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्दछन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ती प्राप्त हुने, ईष्ट कूलदेवता प्रसन्न हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस