Latest News

कुलमान घिसिङ माओवादीबाट चुनाव लड्ने, कहाँबाट उम्मेदवारी दिने भए ?

Nepalese Times August 31, 2022 (1 Year ago)    389 Views

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यरकारी निर्देशक कुलमान घिसिङले पनि संसदीय चुनाव लड्ने पक्कापक्कीजस्तै भएको छ । उनी माओवादी केन्द्रबाट चुनाव लड्ने चर्चा भएरहेको छ ।

माओवादीका कार्यकर्ताहरुले घिसिङलाई काठमाडौंबाट उम्मेदवार बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्। घिसिङलाई काठमाडौंबाट उम्मेदवार बनाउन माओवादी केन्द्रका काठमाडौंमा क्रियाशील नेताहरूले पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका हुन्।

आफू लगायत केही साथीहरूले कुलमानलाई उम्मेदवार बनाउँदा राम्रो हुन्छ भनेको माओवादी केन्द्रका नेता अनिल शर्माले बताएका छन् । अध्यक्ष प्रचण्डले पनि यो कुरालाई सकारात्मक ढंगले लिएको भन्दै उनले कुलमानलाई काठमाडौं १, ३ र ५ मध्ये जुन क्षेत्रबाट उम्मेदवार बनाउँदा पनि हुने र त्यसका लागि सबै क्रियाशीलहरूले उनलाई साथ दिन तयार रहेको बताए ।

पार्टीको एक कार्यक्रममा प्रचण्डले पनि निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो भन्दै काठमाडौंमा बालेन शाहले ल्याएकोभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेको बताएका थिए। काठमाडौंमा माओवादीको अवस्था चिन्ताजनक भएकाले नयाँ अनुहारलाई उम्मेदवार बनाउने पक्षमा आफू रहेको बताएका हुन्। राजनीतिमा देखिएको भन्दा अलग्गै र फ्रेस अनुहार आउन सक्ने उनले बताएका थिए।

उनले भनेका थिए, ‘हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं । त्यही सेन्टिमेन्ट ल्याएर, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो। त्यस्तो मान्छे गुटबन्दीमा पनि छैन, कहीँ पनि छैन, यो गुट र त्यो गुट भन्ने पनि छैन, हामी सबैले साथ दिन सक्ने मान्छे, हो यो त ठीक छ भन्ने मान्छे उम्मेदवार भए भने काठमाडौंमा हामीले २-३ सिट जित्न सक्छौं। २-३ सिट जित्यौं भने हामी काठमाडौंमा फेरि शक्तिशाली बन्छौं ।’

लोडसेडिङको अन्त्य गरेका घिसिङलाई काठमाडौंको जुन ठाउँबाट उठाए पनि चुनाव जित्ने माओवादीको विश्लेषण छ। माओवादी नेता हरिबोल गजुरेलले घिसिङबारे अहिले पार्टीमा छलफल नभएको तर उनी पनि राम्रो उम्मेदवार हुन सक्ने बताए। एकातिर काठमाडौंमा पार्टीको खस्किँदो अवस्था, अर्कोतिर कुलमान घिसिङप्रति जनताको विश्वासका कारण जनमत बढ्न सक्ने बुझाइ माओवादीको छ।

नेकपा माओवादी केन्द्रले २०६४ सालपछि काठमाडौंका कुनै पनि क्षेत्रमा निर्वाचन जित्न सकेको छैन। त्यो बेला काठमाडौंका दस क्षेत्रमध्ये माओवादीले चार क्षेत्रमा निर्वाचन जितेको थियो। कुलमान घिसिङनिकट स्रोतले भने धेरै दलहरूले पहिलेदेखि नै राजनीतिमा आउनुपर्छ, आफ्नो पार्टीबाट चुनाव लड्नुपर्छ भनेर अनुरोध गरेको तर उनले त्यसबारे कुनै सोच नबनाएको बतायो।

प्रतिक्रिया दिनुहोस