Latest News

चितवन १ मा कांग्रेसबाट राज्यमन्त्री श्रेष्ठ, वाग्ले र पौडेलको दावी, कसले पाउलान् टिकट ?

Nepalese Times August 30, 2022 (1 Year ago)    267 Views

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं। १ मा नेपाली कांग्रेसबाट राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले दाबी पेस गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तीर्थ खनियाँ, राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलियाले पनि उम्मेदवार हुने आकांक्षा राखेर नाम दर्ता गराएका छन् ।

उम्मेदवार बन्न आकांक्षा राख्नेमा बुर्लाकोटीबाहेक सबै नयाँ अनुहार हुन् । यसअघि २०७० र २०७४ को निर्वाचनमा नेकपा एमालेका सुरेन्द्र पाण्डे निर्वाचित हुँदा उनीसँग बुर्लाकोटी पराजित भएका थिए ।

चितवन १ को क्षेत्रीय समितिले उम्मेदवारका आकांक्षीहरुलाई मंगलबार दावी पेश गर्न आग्रह गरेको थियो । क्षेत्रीय समितिले बुधबार दिउँसो प्रत्यक्षतर्फ उम्मेदवार बन्न नाम दर्ता गराएका आकांक्षीहरुसँग छलफल गर्ने बताएको छ ।

सकेसम्म सहमतिमै उम्मेदवार चयन गरिने कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति किरण भूषण सिंह ओलीले जानकारी दिएका छन् । क्षेत्र नं. १ बाट समानुपातिकतर्फ उम्मेदवार बन्न ८ जनाले नाम दर्ता गराएका छन् ।

यसरी नाम दर्ता गराउनेमा पूर्व सांसद सावित्रीदेवी चौधरी, पूर्वमन्त्री सावित्री बोगटी पाठक, जोखाप्रसाद चौधरी, सुशीलादेवी उप्रेती, बासुदेव चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापा छन् ।

नेपाली कांग्रेस चितवनले १७ गतेसम्म जिल्लामा आकांक्षीहरुको नाम पठाउन क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ । चितवनको क्षेत्र नं। २ र ३ भने उम्मेदवार बन्ने चाहाना राख्नेलाई वुधबार नाम दर्ता गराउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस