Latest News

चितवन १ बाट चुनाव लड्न स्वर्णिम वाग्लेले दिए कांग्रेसमा आवेदन, को हुन् वाग्ले ?

Nepalese Times August 30, 2022 (1 Year ago)    320 Views

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पनि आगामी मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । उनले उम्मेदवार हुन कांग्रेस चितवन क्षेत्र नम्बर १ मा आवेदन दिएका छन्।

नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेको थियो। वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार थिए। उनी हालै नेपाल आएका थिए।

यस्तै कांग्रेसकाबाट चितवन १ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका हुन्।

उनीहरु सबैले आफैँ उपस्थित भएर निवेदन दर्ता गरेको क्षेत्र नम्बर १ का सचिव दीपक पौडेलले जानकारी दिए । समानुपातिकतर्फ नेता शुशीलादेवी उप्रेती, सावित्री बोगटी पाठक, जोखाप्रसाद चौधरी, वासुदेव चौधरी, सावित्रीदेवी चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापाले निवेदन दर्ता गरेका छन्।

निवेदन दर्ताका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको थियो। क्षेत्रीय समितिले बुधबार दिउँसो प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक सबै नेताहरुसँग छलफल गर्ने जनाएको छ।

छलफलबाट उपयुक्त उम्मेदवार छनोट गरी उपल्लो तहमा सिफारिस गरिने पौडेलले बताए। कांग्रेस चितवनको क्षेत्र नम्बर २ र ३ ले भने उम्मेदवार बन्न इच्छुकले निवेदन गर्दा गर्ने मिति बुधबारलाई तोकेका छन्।

प्रतिक्रिया दिनुहोस