Latest News

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ महत्वपूर्ण निर्णयहरु (सूचीसहित)

Nepalese Times August 30, 2022 (1 Year ago)    381 Views

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दे सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी गराएका छन् । मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना तथा कार्यक्रमका लागि आवश्यक दरबन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेको हो ।

यस्तै सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका आयोजना तथा कार्यक्रमका लागि विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका राजपत्रांकित अधिकृत तहका ४३१ पदको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत चिकित्सा शिक्षा आयोग र मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना कार्यक्रम र समितिका लागि राजपत्रांकित श्रेणी वा सोसरहका १०५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाका लागि ५० राजपत्रांकित पदको अस्थायी दरबन्दीसमेत स्वीकृत गरिएको छ ।

यस्तै सरकारले आफ्नो नेता तथा कार्यकर्ता भर्ती गर्न अस्थायी दरबन्दी सृजना गरिरहेको आरोप खेपिरहेका बेला सरकारका प्रवक्ता कार्कीले भने त्यसको बचाउ गरेका छन् । उनले अस्थायी दरबन्दी स्वीकृत भएकोप्रति आम जनमानसमा भ्रम सृजना गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।

अस्थायी दरबन्दीमा आफ्ना मनपरेका व्यक्तिलाई नियुक्ति गर्न नभएर स्थायी नियुक्त कर्मचारीबाटै पदपूर्ति गरिने उनलले दाबी गरे । उनले भने, ‘नयाँ नियुक्ति गर्न नभएर स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्न अस्थायी पद सृजना गरिएको हो ।’

उनले भने, आयोजना, परियोजना तथा कार्यक्रम अस्थायी प्रकृतिका हुने भएकाले स्थायी दरबन्दी सृजना गर्दा आयोजना, परियोजना तथा कार्यक्रमको समाप्तिपछि कर्मचारीको व्यवस्थापनमा जटिलता आउने भएकाले र थप आर्थिक दायित्वसमेत बढ्ने भएकाले स्थायी रुपमा नै कार्यरत कर्मचारीमध्येबाट खटाउने उद्देश्यले आवश्यकताअनुसार दरबन्दी सृजना गर्ने गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस