Latest News

तनहुँ १ बाट उम्मेदवार बन्न रामचन्द्र पौडेलको आवेदन, के गर्लान् देउवा ?

Nepalese Times August 29, 2022 (1 Year ago)    416 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन दिएका छन् । कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आइतबारदेखि आवेदन खुलाएको थियो ।

पौडेले आंकाक्षा राखेको क्षेत्रमा केन्द्रीय सदस्य गोविन्द भट्टराईलेसमेत उम्मेदवारी दिने तयारी गरेका छन् । पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै समानुपातिकतर्फ दलितमा यमुना खड्का विकले नाम दर्ता गराएकी छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ) र सरिता गुरुङले नाम दर्ता गराएका छन् ।

समानुपातिकतर्फ कल्पना पोख्रेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेलको नाम दर्ता भएको छ । जिल्ला सदस्य डम्बर अधिकारीले तनहुँ क्षेत्र नम्बर १ प्रदेश (ख) का लागि तथा समानुपातिकतर्फ रेशम गुरुङ, चिजा श्रेष्ठ, पुष्पादेवी श्रेष्ठ, प्रेमबहादुर गुरुङ र पवित्रा गौलीले आवेदन दिएका छन् ।

यस्तै नेपाली कांग्रेसकी एक सांसदले नेकपा माओवादी केन्द्रसँगको गठबन्धनलाई अपवित्र भन्दै एक्लै चुनावमा जान सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेकी छन् । माओवादीसँगको अपवित्र चुनावी गठबन्धनले कांग्रेसलाई हित नगर्ने उनले दाबी गरिन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद पार्वती डिसी चौधरीले माओवादीसँगको तालमेल जनताप्रतिको बेइमानी भएको दाबी गरेकी छन् । उनले यसो भन्दा एमाले सांसदले ताली बजाएका थिए ।

‘सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक अनुरोध गर्न चाहन्छु – माओवादीसँगको चुनावी अपवित्र गठबन्धनले न देशलाई न पार्टीलाई, गठबन्धनले दुवै पार्टीलाई फाइदा गर्दैन । यो अपवित्र गठबन्धन जनतासंँगको बेइमानी पनि हो,’ उनले भनिन्, ‘कांग्रेसलाई बचाउन एक्लै चुनावमा जाने घोषणा गर्नुस् । मंसिरमा कांग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्दैन, अन्तिम समयमा राम्रो काम गर्नु न । अन्यथा वर्तमानदेखि भावी पुस्ताले सराप्ने छन् ।’

यसअघिको संसद बैठकमा उनले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको कदमको स्वागत गरेकी थिइन् । पार्टी सभापतिले कांग्रेस सदस्य मनोनयन गर्दा आफूलाई नराखेको भन्दै उनले कांग्रेस परित्याग गर्ने घोषणा गरेकी थिइन् । उनी दाङबाट समानुपातिक सांसद हुन् । उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने बताएका हुन् ।

भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए । उनले भने,’ प्रचण्ड कमरेडले संघ र प्रदेशबाट एक महिलासहित तीनजनाको नाम पठाउन निर्देशन दिनुभयो । कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ भन्नुभयो ।

प्रचण्डले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारे । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने बताए ।

प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने भने, ‘गठबन्धनभित्र पनि वाम दलहरु हुनुहुन्छ । बाममोर्चा बनाएर चुनावमा जान सकिन्छ । तर, हामी गठबन्धनमा प्रतिवद्ध छौं । कांग्रेस पनि हामीसँगै छ ।’

प्रतिक्रिया दिनुहोस