काठमाडौं ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।कुनै बेलाका सहयात्री ओलीलाई सम्झिँदै उनले माओवादीलाई क्रान्तिकारी बनाइदिएकोमा प्रशंसा गरेका हुन्।
‘हाम्रो पार्टी त्यस्तो हो, जसको क्रान्तिकारी रुपान्तरणको सम्भावना बाँकी छ, अन्य पार्टीबाट त्यो सम्भावना छैन,’ बागमती प्रदेशबाट पदाधिकारी, केन्द्रीय सदस्यहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘चुनावदेखि चुनावबाट मात्र यो पार्टी क्रान्तिकारी रहिरहँदैन। यस मानेमा केपी ओलीलाई धन्यवाद! किनकी उनले दुई चोटी संसद विघटन गरेर हामीभित्रको क्रान्तिकारीपन जगाउन योगदान गरे।’
अध्यक्ष प्रचण्डले २०७४ को स्थानीय तह चुनावमा बागमती प्रदेशबाट जितेको ५० सिट यसपटकको स्थानीय चुनाव (३० वैशाख २०७९) गुमाएर पहिलो वामपन्थी बन्न नसकेको बताए। ‘बागमती प्रदेशमै देशकै पहिलो वामपन्थी पार्टीका रुपमा स्थापित गर्न सक्थ्यौँ। तर, गत चुनावमा जितेको ५० पालिका यस पटक जित्न सकेनौँ,’ प्रचण्डले भने।
उनले माओवादीभित्रको कुण्ठा र अन्तरविरोध हल गर्न सके पहिलो कम्युनिष्ट पार्टी हुने ठोकुवा गरे। ‘हामी भित्रको अन्तरविरोध र कुण्ठा हल गर्न सक्दा अहिले पनि देशकै पहिलो कम्युनिष्ट पार्टी बनाउन सक्छौँ,’ नेताहरुसँग प्रचण्डले भने।
त्यस्तै, ‘प्रचण्ड’ले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने बताएका छन् । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने बताएका हुन् ।
भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए । उनले भने,’ प्रचण्ड कमरेडले संघ र प्रदेशबाट एक महिलासहित तीनजनाको नाम पठाउन निर्देशन दिनुभयो । कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ भन्नुभयो ।
प्रचण्डले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारे । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने बताए ।