Latest News

अनधिकृत संरचना भत्काउने अभियानमा कतै नदेखिएकी काठमाडौंकी उपमेयर सुनिताले बल्ल मुख खोलिन्

Nepalese Times August 28, 2022 (2 Year ago)    331 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सक्रियतामा महानगरले अनधिकृत संरचना भत्काउने अभियानमा उपमेयर सुनिता डंगोलको अनुपस्थितीलाई लिएर प्रश्न उठेपछि डंगोलले प्रस्टिकरण दिएकी छिन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक अपिल सार्वजनिक गर्दै मेयरले चालिरहेको अभियानमा आफ्नो साथ र समर्थन रहेको प्रष्ट पारेकी हुन् । महानगरपालिकाले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचनामा डोजल चलाउने अभियान जारी राखेको छ । तर मेयर शाहको सक्रियतामा डोजर चलाइरहँदा उपमेयर डंगोलको भने उपस्थिति कतै नदेखिएपछि उनीमाथि प्रश्न उठेको थियो । डंगोलले त्यसैको जवाफ दिँदै अपिल जारी गरेकी हुन् ।

‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु’ उनले भनेकी छिन्, ‘त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’

उपमेयर डंगोलले केही दिनदेखि मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग आफूलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने काम गरेको आरोप पनि लगाएकी छिन् । पत्रकारले सत्यता, सन्तुलन र विश्वसनीयता गुमाएर पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी आफूसँग जोडिएका समाचारमा आफ्नो प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने गरेको उनको गुनासो छ ।

हेर्नुस् उपमेयरको अपिल

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना ९निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना० हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो ।

म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु । काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेण्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु ।

तर, केही दिनदेखि मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ ।

पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन । यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस