Latest News

एसिया कपमा आज कसले मार्ला बाजी ?

Nepalese Times August 28, 2022 (1 Year ago)    1047 Views

काठमाडौं । एसिया कपमा आइतबार राति चिरपरिचित प्रतिद्वन्द्वीहरू भारत र पाकिस्तान भिड्दैछन्। दुबईमा हुने खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरू हुनेछ। पछिल्लो पटक भारत र पाकिस्तानको क्रिकेट टोलीले टी–२० मा अक्टोबर २०२१ मा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो ।

खेलपछि भारतीय टोलीका एकमात्र मुस्लिम खेलाडी मोहम्मद शामीलाई नराम्रोसँग ट्रोल गरिएको थियो। शमीले ३.५ ओभर बलिङ गर्दै ४३ रन दिएका थिए। उनले कुनै विकेट लिन सकेनन्। टी-२० मा यति रन दिनु सामान्य हो तर उनलाई निशाना बनाइयो। एसिया कपमा आइतबार हुने भारत–पाकिस्तान खेलको तयारी पूरा भइसकेको छ।

तर, भारत–पाकिस्तान खेललाई खेल मात्र नभई राष्ट्रवादको खेलका रूपमा हेर्ने धेरै छन्। आइतबारको खेलमा पाकिस्तानले आफ्ना तीव्र गतिका बलर शाहिन अफ्रिदी बिना खेल्नेछ। उनी घुँडाको चोटका कारण खेलबाट बाहिर छन्।

पछिल्लो पटक भारत र पाकिस्तान टी–२० मा भिड्दा अफ्रिदी म्यान अफ द म्याच बनेका थिए। उनले तीन विकेट लिएका थिए। गत हप्ता पाकिस्तानका पूर्व कप्तान वकार युनिसले ट्विट गरेका थिए,‘शाहीनको चोट भारतका शीर्ष ब्याट्सम्यानका लागि राहत साबित हुनेछ।’

भारतका लागि खेलेका इरफान पठानले जवाफमा ट्वीट गरेका थिए, ‘बुमराह एसिया कपमा खेलिरहेका छैनन्। यो अन्य टोलीका लागि राहत हुनेछ। भारतीय बलर जसप्रित बुमराह ढाडको चोटका कारण खेल्न सक्ने छैनन्।’

गत महिना भारतीय कप्तान विराट कोहली इंग्ल्यान्डमा खराब लयमा गुज्रिरहेको बेला पाकिस्तानी स्टार खेलाडी बाबर आजमले उनलाई सन्देश पठाएका थिए, ‘यो चरण पनि बित्नेछ। साहस राख्नुहोस्।’ कोहलीले पनि न्यानो जवाफ फर्काएका थिए, ‘धन्यवाद, राम्रो खेल्नुहोस् र जारी राख्नुहोस्। शुभकामना।’

भारतीय टोलीका पूर्व कप्तान विराट कोहली फर्ममा छैनन् । उनले नोभेम्बर २०१९ यता कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक बनाएका छैनन्। त्यसयता भारतले २४ टी–२० खेल खेलेको छ । तर कोहलीले यीमध्ये चार खेल मात्र खेलेका छन् । कोहली आराम र चोटबाट निको भएर फर्किएका छन्। उनका फ्यानहरुले अहिले उनीबाट ठूलो इनिङको अपेक्षा गरेका छन्।

उनले एसिया कपमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। यो कोहलीको १०० औं टी-२० खेल हुनेछ। उनी न्युजिल्यान्डका रोस टेलरपछि तीनै प्रकारको क्रिकेटमा आफ्नो १०० औं खेल खेल्ने दोस्रो खेलाडी हुनेछन्।

१५ औं एसिया कपमा दुई समूहमा ६ टोलीको सहभागिता रहेको छ। यसअघि श्रीलंकामा आयोजना गर्ने भनिए पनि त्यहाँको आर्थिक र राजनीतिक अवस्था बिग्रिएपछि संयुक्त अरब इमिरेट्समा सारिएको थियो । प्रतियोगितामा प्रवेश गर्ने सबै टोलीले ‘सुपर फोर’ मा एकअर्कासँग खेल्नेछन् । फाइनल सेप्टेम्बर ११ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस