Latest News

मौसम बदली : यी स्थानमा भारी वर्षा, दिनभर कस्तो रहला ?

Nepalese Times August 28, 2022 (2 Year ago)    309 Views

काठमाडौं । अहिले (आइतबार बिहान) देशैभर मौसम बदली भई धेरै स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशका धेरैजसो स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको हो। काठमाडौं उपत्यकामा पनि २ घण्टादेखि वर्षा भइरहेको जानकारी उनले दिइन्। ‘यो क्रम अझै केही समय रहन्छ’, उनले भनिन्।

दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

‘सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसरा राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना र बाँकी प्रदेशमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

त्यस्तै, काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

यस्तै, बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ। विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।

बाढी बस्ती र सडक किनारसम्मै जान सक्ने भन्दै केन्द्रले किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस