Latest News

राष्ट्रपतिको यस्तो कदमले झस्किए देउवा, गठबन्धनमा खैलाबैला !

Nepalese Times August 24, 2022 (2 Year ago)    315 Views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई लिएर राजिनामा दिने तयारी थालेपछि सत्ता गठबन्धनमा खैलाबैला नै मच्चिएको छ। राष्ट्रपतिको सम्भावित राजीनामा कदमबारे प्रधानमन्त्री शेर बहादुर देउवा तनावमा छन् । राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको, त्यसमाथि विगतदेखि नै दलीय राजनीतिको औजार बन्दै आएको नागरिकता विधेयकजस्तो संवेदनशील मुद्दामा राष्ट्रप्रमुख नै तानिने अवस्थामा यो मुद्दा आउँदो चुनावको सबैभन्दा गम्भीर सवाल बन्न सक्नेतर्फ कांग्रेस नेताहरुको ध्यान छ ।

‘हामीले एउटा कुुराबारे सोच्यौं, तर बुझ्न सकेनौं’ ती नेताले भने, ‘संवैधानिक राष्ट्रपतिले त्यतिमात्रै गर्ने सुविधा हुन्छ, जुन संविधानले दिएको छ । तर, उहाँ किन अघि बढ्ने तयारीमा हुनुहुन्छ ?’ प्रधानमन्त्री देउवामा अपुष्ट र अमूर्त कुरा गर्ने स्वभाव नभएको भन्दै ती नेताले भण्डारीको सम्भावित कदमबारे थप संशय व्यक्त गरे ।

आज बुधबार पनि गठबन्धनका दलहरुभित्र सम्भावित परिस्थितिका सम्बन्धमा छलफल भएको ती नेताले भने । आज शीतलनिवासमा राष्ट्रपतिबाट सुरक्षा अधिकृतहरुको आकस्मिक बैठक डाकियो, जसमा राष्ट्रपति भण्डारीकाे सुरक्षामा खटिएका पूर्वअधिकारी पनि सामेल थिए ।

नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उनले भेट गरेकी हुन् । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण आएको छैन । यद्यपि, सुरक्षा सम्बद्ध स्रोतले भण्डारीले सुरक्षाकर्मीहरुलाई ‘धन्यवाद दिएको’ बतायो । नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।

राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट छन् । पछिल्लो समय उनले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर भेटघाट गरिरहेकी छन् । संविधानविद्हरुसँगको छलफलमा पनि उनले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्ति गरेकी थिइन् ।

उनले आफूले देशका लागि राम्रो गर्न खोज्दा खोज्दै पनि सफल हुन नसेको भन्दै पद नै त्याग्नेसम्मको सोच आउने गरेको सहभागीहरुसँग बताएकी थिइन् ।

वैवाहिक अंगिकृतको व्यवस्थाबारे पुनर्विचार गर्न भन्दै सरकारले प्रमाणिकरणका लागि पठाएको नागरिकता विधयेक भण्डारीले संसदमा फिर्ता पठाइदिएकी थिइन् । तर प्रतिनिधिसभाबाट फेरि सोही विधयेक हुबहु पारित भइसकेको छ । र, राष्ट्रियसभामा पेश हुने क्रममा छ ।

नागरिकता विधेयकमा अडान लिएर राष्ट्रपतिले केही महिना कार्यकाल बाँकी छँदै राजीनामा दिने तयारी थालेकी छन्। यदि उनले राजिनामा दिइन् भने त्यो नेपाली राजनीतिमा नयाँ दृष्टान्त हुनेछ । राष्ट्रवादको एउटा मिसालका रूपमा यसलाई विश्लेषण गरिनेछ ।

राष्ट्रपतिबाट हटेपछि भण्डारी कुनै पनि सरकारी सेवा-सुविधाको उपभोग नगर्ने मनस्थितिमा छिन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जस्तो सरकारी आवासको खोजी नगरी उनी बूढानीलकण्ठ नगरपालिका चपलीमा रहेको आफ्नै घरमा बस्नेछिन् । सरकारी सेवा-सुविधा त्याग्दा जनतामा उनीप्रति थप सकारात्मक छाप बस्नेछ ।

बुढानिलकण्ठमा रहेको आफ्नो निजी निवास तत्काल सरसफाइ र रंगरोगन गर्न निर्देशन दिनुले उनी बहिर्गमनको मनस्थितिमा रहेको संकेत अवश्य मिल्छ ।

नागरिकता विधेयकको प्रमाणीकरण रोकेर राजीनामा दिएको खण्डमा जनतामा उनको साख बढ्ने विश्लेषकहरू बताउँछन् । त्यसले उनको आगामी राजनीतिक भविष्यलाई उजिल्याउने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस