Latest News

जगन्नाथ पौडेल नेपाली कांग्रेस बीपी प्रवेश !

Nepalese Times August 24, 2022 (2 Year ago)    332 Views

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद जगन्नाथ पौडेल नेपाली कांग्रेस बीपी प्रवेशको तयारीमा लागेका छन्।

पार्टी प्रवेशका लागि उनले सोमबार कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनसँग छलफल गरेका छन्।

राष्ट्रियसभाका पूर्वसांसद एवं तत्कालीन भरतपुर नगरपालिकाका पूर्वउपप्रमुख पौडेलले पार्टी प्रवेशका बारेमा सभापति शेरचनलगायतका पदाधिकारीसँग छलफल गरेको वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले जानकारी दिए।

‘म कांग्रेस बीपीमा आवद्ध हुनु अघि सभापतिसहितको टोली उनको निवास (चितवन) गएका थियौँ। उनले भदौ मसान्तसम्म पार्टी प्रवेश गर्ने कुरा गरेका थिए,’ उनले भने, ‘आज उहा हाम्रो पार्टी कार्यालय आउनुभयो। आगामी चुनावमा कांग्रेस बीपीको चुनाव चिन्हमा निर्वाचन लड्छौँ भनेका छन्।’

मल्लका अनुसार कांग्रेस बीपीको टोली नेता पौडेललाई भेट्न साउन पहिलो साता उनको निवास पुगेको थियो। मल्ल साउन ६ गते कांग्रेस परित्याग गरेर कांग्रेस बीपीमा भएका थिए। उनलाई पार्टीले साउन ११ गते वरिष्ठ उपसभापतिमा मनोनित गरेको थियो।

पूर्वसांसद पौडेल वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसबाट विद्रोह गर्दै प्रमुख (मेयर) को उम्मेदवार बनेका थिए।

निर्वाचन आयोगका अनुसार भुईँकटहर चुनाव चिह्न लिएर महानगर प्रमुखमा प्रतिष्पर्धा गरेका पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका थिए।

सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ५२ हजार २८ मतका साथ विजयी भएकी थिइन्। दाहालका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत ल्याएका थिए।

यसैबीच कांग्रेस बीपीले बाँके सभापतिमा कांग्रेस नेता सूर्यप्रसाद रेग्मीलाई मनोनित गरेको वरिष्ठ उपसभापति मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस