Latest News

मेयर बालेनले महानगरवासीलाई गरे यस्तो आग्रह, अटेर गरे खोजी-खोजी कारबाही

Nepalese Times August 22, 2022 (1 Year ago)    295 Views

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्डरग्राउन्ड पार्किङलाई अन्य काममा प्रयोग नगर्न भनेका छन्। नयाँबानेश्वरस्थित बानेश्वर प्लाजामा पार्किङ नक्साका लागि पास गरेर पसल चलाइएपछि महानगर र ट्राफिक प्रहरी महाशाखाको समन्वयमा सोमबार तोडिएको थियो।

त्यसपछि बालेनले ३५ दिने सूचनाको म्याद सकिएपछि बानेश्वरबाट अन्डरग्राउन्ड पार्किङ खुलाउने अभियान थालेको बताउँदै अब महानगरभरी यो अभियान लैजाने बताए।

‘अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ’, उनले भनेका छन्, ‘पार्किङ भनेर नक्सा पास भएका तर अन्य रुपमा प्रयोग भएका संरचनाको अनुगमन, खोजी र कारबाही सुरु भएको छ।’

काठमाडौं उपत्यका ट्राफिक महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसँगै सडक विस्तार अभियानमा जुटेका मेयर बालेन्द्रले यो अभियान अन्तर्गतको कारबाही बानेश्वर क्षेत्रबाट सुरु भएको बताएका छन्।

‘विस्तारै सबैतिर महानगर पुग्नेछ। यसैले हामी अनुरोध गर्दछौँ पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गरिदिनु होला’, उनले भने, ‘यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ। महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ।’

उनले कारबाही भन्दा महानगरप्रतिको जिम्मेवारीले पनि आफू सचेत बनिदिन यहाँका बासिन्दालाई आग्रह गरेका छन्।

यस्तो छ उनले लेखेको स्टाटस
अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ । पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुको अनुगमन, खोजी र कारबाही सुरु भएको छ ।

हामीले आज बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौँ । विस्तारै सबैतिर महानगर पुग्नेछ । यसैले हामी अनुरोध गर्दछौँ कि पार्किङका लागि बनाइएका संरचनाहरु पार्किङमा नै प्रयोग गरिदिनुहोला ।
यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ ।कृपया, कारबाही भन्दा पनि महानगरप्रतिको जिम्मेवारीले पनि आफु सचेत बनिदिनु हुनेछ भन्ने विश्वास गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस