काठमाडौं– बेलायतमा नेपाली नर्स लैजानको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। रोजगारीका लागि स्वास्थ्य क्षेत्रका जनशक्ति लैजाने विषयमा आज (सोमबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो।
बेलायतले पहिलो चरणमा १०० देखि २०० जना नर्स लैजाने सम्झौता भएको हो। उनीहरुले नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने मन्त्रालयले जनाएको छ। उनीहरुको तलब बेलायती नागरिकको सरह हुने भएको छ।
केही समय अगाडि बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा १ लाख श्रमिक भित्र्याउने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप नेपालबाट नर्स लैजानको लागि मन्त्रालयमा सम्झौता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।
नेपालले केही समय अगाडि रोजगारी, पारिश्रमिक तथा सेवा सुविधाका आधारमा बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो।
नेपालले बेलायत जाने नर्स लगायत स्वास्थ्य क्षेत्रका कामदारको अवधि (भिसा) ५ वर्षको हुनुपर्ने प्रस्ताव गरेको छ। तर, यसबारे पूर्ण कार्याविधि भने बनिसकेको छैन।
‘बेलायतले शून्य लागमा लैजाने सहमति जनाएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछि अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु लैजाने गरी सहमति भएको छ। सुरुमा पाइलट प्रोजेक्टको रुपमा १०० देखि २०० नेपाली लैजाने सहमति भएको हो।’
के के योग्यता चाहिन्छ ?
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुन तहको नर्सिङ जनशक्ति पठाउने भन्नेबारे सार्वजनिक गरेको छैन । बेलायत पठाउनका लागि ह्युमन रिसोर्स म्यापिङ भने गरिएको र १५ हजार बेरोजगार नर्सिङ जनशक्ति मध्येबाटै पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।
तर, बेलायत जानका लागि दुई वर्ष नर्सिङ अनुभव हुनुपर्ने र आईएलटीएस गर्नुपर्ने महाशाखा प्रमुख पोखरेल बताउँछन् । यता नेपाल नर्सिङ संघले भने बेलायतले ‘स्टाफ नर्स’ लैजान चाहेको जनाएको छ । संघकी अध्यक्ष मनकुमारी राईका अनुसार बेलायतले १० हजार स्टाफ नर्स माग गरेको जानकारी बेलायतमा कार्यरत नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन यूकेले दिएको छ ।
नेपाल नर्सिङ परिषद्काअनुसार नेपालमा हालसम्म ६४५ जना स्पेसलिस्ट, ७२ हजार ५५० जना नर्स, ३१ जना मिडवाइफ, ३६ हजार ७७४ जना एएनएम, तथा ८४७ जना फरेन नर्स दर्ता भएका छन् । यीमध्ये २५ प्रतिशत नर्स रोजगारीका लागि अस्ट्रेलिया तथा अरेबियन देशहरूमा जाने गरेको परिषद्को तथ्यांक छ ।