Latest News

चुनावपछि पनि गठबन्धनकै सरकार बने त्यसले मान्छे कुट्दै हिँड्छ : ओली

Nepalese Times August 20, 2022 (2 Year ago)    308 Views

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भएको दाबी गरेका छन्।

। शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए। उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए

‘परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूकै सरकार बन्यो भने त्यो सरकारले मान्छे कुट्दै हिँड्छ,’ ओलीले भने।

‘यो त परमादेशबाट बनेको सरकार, भोलि जनादेश पनि प्राप्त भयो भने यिनीहरूको हालत के हुन्छ। यिनीहरू कसरी उफ्रिन्छन्,’ उनले भने, ‘यिनीहरूले बाटोमा मान्‍छे कुट्दै हिँड्छन्। चड्याम्म गालामा हिर्कायो। किन हान्यो भन्यो भनेर सोध्यो भने हाम्रो सरकार छ भन्छन्।’

उनले अहिलेको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको पनि बताए।

झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको उनको भनाइ थियो।

विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यस्का लागि जतिसक्दो योगदान दिन इन्जिनियरहरूलाई ओलीले आग्रह गरे।

आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस