काठमाडौं –
सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा बनाउनका लागि शीर्ष नेतृत्वले कार्यदललाई नै जिम्मेवारी दिएको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिए ।
गठबन्धन दलले आगामी निर्वाचनका सन्दर्भमा सिट बाँडफाँटका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही क्रममा कार्यदलले अहिलेसम्म गरेका कार्यप्रगतिका बारेमा जानकारी गराएको थियो ।
छलफलमा शिर्ष नेताहरुले अहिलेसम्मको प्रगति तथा सिट बाँडफाँटका विषयलाई अन्तिम रुप दिन समेत निर्देशन दिएको बताइएको छ ।
कार्यदलमा कांग्रेसबाट नेता सिटौला, सञ्चारमन्त्रीसमेत रहनुभएका नेता ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र) बाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
बैठकपछि बोल्दै कार्यदल सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्। ‘गठबन्धनको शीर्ष नेताले चाँडै आफ्नो कार्यसम्पादन पूरा गर्न कार्यदललाई भनेको छ’, उनले भने, ‘कार्यदलले चाँडै आफ्नो कार्यसम्पादन पूरा गरेर प्रतिवेदन बुझाउनेछ।’
उनका अनुसार कार्यदलले साझा अवधारणा बनाएपछि फेरि शीर्ष नेताहरु बस्ने छन्। ‘कार्यदलले साझा अवधारणा बनाइसकेपछि शीर्ष नेताहरु बस्नु हुनेछ। हामी पनि छिट्टै बस्छौँ’, उनले भने।
कार्कीका अनुसार अहिले नै सिट बाँडफाँटको टुंगो भइसकेको छैन। ‘अहिले नै सिट बाँडफाँटतिर जाने बेला भइसकेको छैन’, उनले भने, ‘चाँडो भन्दा चाँडो यसबारे हामी जानकारी दिन्छौँ। हामी देशलाई एउटा निष्कर्षमा पुर्याउने बाटोमा छौँ।’