Latest News

भारतबाट पेट्रोलको मूल्य साढे ३१ रुपैयाँ घटेर आयो, आयल निगमले गर्यो यस्तो निर्णय !

Nepalese Times August 19, 2022 (1 Year ago)    1090 Views

काठमाडौं ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य ३ पटक घटेर आएको छ । तर, नेपाल आयल निगमले भने नेपालमा पेट्रोलको मूल्य घटाएको छैन ।

पछिल्लो ३ पटकमा भारतबाट पेट्रोलको मूल्य ३१ रुपैयाँ ५० पैसा घटेर आइसकेको छ । यस्तै ३ पटकमा डिजेलको मूल्य ३३ रुपैयाँ ८५ पैसा घटिसकेको छ ।

भारतबाट हरेक १५ दिनमा आउने पेट्रोलियम पदार्थको नयाँ मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेशन आईओसीले मंगलवार पठाएको नयाँ मूल्य अनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै पछिल्लो समय ३ पटकसम्म लगातार आईओसीबाट पेट्रोलियमको मूल्य घटेर आएको छ। योसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर करिब ४ रुपैयाँ नाफा हुनेछ।

तर, डिजेलमा अझै प्रतिलिटर करिब ५ रुपैयाँ घाटा नै छ। यसका लागि यही मूल्य यथावत गर्नुपर्ने निगमको भनाइ छ। यही मूल्य कायम रहिरहेमा निगमलाई आगामी १५ दिनको घाटा ३१ करोड मात्र हुनेछ।

यसअघि साउन १६ गते दोस्रो पटक डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो। त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो।

यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निगमले अझै २४ अर्ब तिर्नुपर्ने दायित्व छ। भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

‘हामीलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’

नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको थानीले बताए । उनकाअनुसार भारतीय आयल कर्पोरेसन आईओसीलाई तिर्नु पर्ने बक्यौता अझै २४ अर्ब रुपैयाँ बाँकी छ ।

सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।

मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस